मनिषा चम्लागाईँ \ झापा

सरकारले खाद्यान्न उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनका लागि आह्वान गर्दै आएपनि झापाका अधिकांश उद्योग बन्द छन् । कोरोना भाइसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्योग बन्द हुँदा बजारमा चामल अभावसमेत हुने देखिएको छ ।
झापामा सञ्चालित ठूला तथा साना सबै चामल मिल बन्द रहेको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले बताए । झापामा ठूला र साना गरेर २० वटा बढी चामल मिल रहेका छन् । सरकारको आह्वानपछि उद्योग सञ्चालन गर्ने भनिए पनि अधिकांश मजदुर घर गएकाले मिल सञ्चालनमा ल्याउन समस्या भएको ढकालले बताए । “स्थानीय प्रशासनको पूर्ण सहयोग नहुँदा पनि उद्योग सञ्चालनमा समस्या छ” ठकालले भने, “अहिले भारतबाटसमेत खाद्यान्न आयात रोकिएकाले सुरक्षित मापदण्ड अपनाएर राइस मिल सञ्चालन नगर्ने हो भने केही दिन भित्रैमा चामल अभाव सिर्जना हुन्छ ।” भएको चामल बिक्री भइसकेको र नयाँ उत्पादन नभएकाले चामल अभाव हुने देखिन्छ ।
मन्त्रालयले खाद्यान्नका उद्योग सञ्चालन गर्न गत ११ गते नै आह्वान गरे पनि झापाको मेचीनगर नगरपालिकाका–११का रमेश मिण्डाले सञ्चालनमा ल्याएको चामल मिल सोही दिनदेखि बन्द छ । मिण्डा सञ्चालक रहेको मेचीनगरको धाइजनस्थित सूर्य एग्रो पूर्ण रुपमा बन्द रहेको मिण्डाले बताए । “हामी दैनिक ४० टन चामल र १५ टन दाल उत्पादन गथ्र्यौ अहिले मिल नै बन्द छ” मिण्डाले भने, “खाद्यवस्तुका उद्योग खोल्न मन्त्रालयले आग्रह त गरेको छ, तर प्याकिङ म्याटेरियलका उद्योग सञ्चालन गर्न अनुमति छैन, प्याकिङ र म्याटेरियलका उद्योग बन्द हुदाँ हामीले उत्पादन गरेको चामलको प्याकेजिङमा समेत समस्या छ ।” त्यस्तै झापाका मित्तल राइस मिल, गणेश एग्रो, गुप्ता राइस मिललगायतका मिलसमेत पूर्ण रुपमा बन्द छन् । सरकारको आह्वान एकातिर र अर्कोतिर प्रहरीले मजदुर र कर्मचारीलाई उद्योगसम्म आउन नदिएकाले कारखाना सञ्चालन गर्न समस्या भएको उद्योगी बताउँछन् ।
झापाको गौरीगञ्ज गाउँपालिका –६ स्थित अत्याधुनिक प्रविधिको धिरज राइस मिलले भने थोरै मात्रामा चामल उत्पादन गर्दै आएको छ । “उद्योगमा पहिले प्रतिदिन १२ टनसम्म चामल र ६ टन चिउरा र भुजा उत्पादन हुन्थ्यो अहिले दैनिक ४ टन चामल मात्र उत्पादन गर्दै आएका छौँ” मिलका प्रबन्धक सन्तोष शर्माले भने । कोरोनाको जोखिमका कारण मजदुर उद्योगसम्म आएर काम गर्न छाडेपछि उत्पादन घटेको उनी बताउँछन् । “हाम्रो उत्पादन ढुवानी गर्ने सवारी साधनलाई पनि चल्न दिइएको छैन, उत्पादन कसरी र कहाँ ढुवानी गर्ने भन्ने समस्या छ” शर्मा भन्छन् । सोही कारण उद्योग बन्द गर्नु पर्ने अवस्था आएको उनको भनाई छ । अत्यावश्यक मानिएका उद्योगका मजदुर र कर्मचारीलाई स्थानीय प्रशासनले पास दिनुपर्ने उनले बताए । मिलमा आवश्यक कच्चा पदार्थकोसमेत अभाव शुरु भएको उनी बताउँछन् ।
अन्य उद्योगसमेत संकटमा
झापामा निश्चित समयभित्र प्रशोधन गरिसक्नुपर्ने कच्चा पदार्थमा आधारित उद्योगसमेत संकटमा पर्दै गएका छन् । झापामा भेनियर, प्लाइउड, सिमेन्ट र खाद्य उद्योग संकटमा परेका छन् । उद्योगमा रहेको कच्चा पदार्थ काम नलाग्ने अवस्थामा पुग्नुका साथै अर्बौं रुपैयाँ घाटा उद्योगीहरुले व्यहोरिरहेको झापा उद्योग संघका अध्यक्ष ढकाल बताउँछन् । यस्ता उद्योगका सञ्चालकहरुले लकडाउनको समयमा निश्चित सामाजिक दूरी कायम राख्दै थोरै जनशक्तिबाट उद्योग चलाउने वातावरण तयार गरिदिन सरकारसँग आग्रह गरेका छन् । झापामा ३६ वटा भेनियर, १४ वटा प्लाइउड र ७ वटा सिमेन्ट उद्योग रहेका छन् । यस्तै झापामा ३२ वटा चिया प्रशोधन कारखाना, चिया बगान ६० र साना चिया किसानका झण्डै एक सय ८० चिया बगान रहेका छन् । उद्योगले सुरक्षित मापदण्ड पूरा गरी क्वाटरमा नै मजदुरलाई राखेर उद्योग सञ्चालन गर्न सक्ने जिल्ला प्रहरी कार्यालय झापामा प्रमुख कृष्ण कोइरालाले बताए । “लकडाउनको समय भएकाले उद्योग क्षेत्र भन्दा बाहिरबाट ओहोरदोहोर गर्न भने पाइने छैन” प्रमुख कोइराला भन्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्