मनिषा चम्लागाईँ | झापा


कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै भारतबाट आउने मालबाहक सवारी साधनलाई समेत नेपाल प्रवेश गर्न रोक लगाइने भएको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाउ आउने सवारी साधनको प्रवेशमा सोमबारदेखि रोक लगाउने सहमति भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
सवारीसाधनका चालक र सहयोगी मार्फत् नेपालमा कोरोना भाइरस प्रवेश गर्ने खतरा बढेको भन्दै झापाको मेचीनगरपालिकाका स्थानीयले बिरोध गरेसँगै केही निश्चित सामग्री बाहेकका सवारी रोक लगाउने सहमति भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जनाए । सरकारले लकडाउनको समयमा समेत आयात नरोक्न पत्राचार गरे पनि स्थानीय नागरिकको माग भन्सार विभाग र मन्त्रालयमा पठाइएको प्रमुख विश्वकर्माले बताए । खाना पकाउने ग्यास, स्वास्थ्य सामाग्री र पेट्रोलियम पदार्थ बाहेकका सवारी नेपाल प्रवेश गर्न रोक लगाइएको विश्वकर्मा बताउँछन् । ती सावरी साधनलाई सिमानामा नै औषधी छर्केर निर्मुलीकरण गर्ने, चालक र सहयोगीलाई स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गराएर मात्र नेपाल प्रवेश गराउने निर्णय भएको छ ।
काँकडभिट्टा नाकाबाट दैनिक रुपमा ४० देखि ४५ वटा सम्म तरकारी बोकेका पिकअप, ५ वटा खाना पकाउने ग्यास बोकेका मालबाहक सवारी साधन नेपाल प्रवेश गर्ने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकले देखाउँछ । भन्सारबाट लकडाउन यता करिब तीन करोड मूल्यको तरकारी र फलफूल आयात भएको तथ्यांकमा उल्लेख छ । तरकारी र फलफूलसँगै कोइला, क्लिंकर, केराउ, सुपारी पनि आयात भएको छ ।
व्यापारीले तरकारी ल्याउँदा विभिन्न स्थानबाट तरकारी संकलन गरेर ल्याउने हुँदा कोरोना प्रवेश गर्ने खतरा बढ्ने हुँदा उक्त गाडी प्रवेशमा रोक लगाइएको बताइएको छ । स्वास्थ्य सामाग्री र पेट्रोलिय पदार्थ बोकेका सवारी साधान प्रवेशमा रोक नलगाए पनि लकडाउन भएसँगै काँकडभिट्टा नाकाहुँदै स्वास्थ्य सामाग्री र पेट्रोलिय पदार्थ बोकेका गाडी नेपाल प्रवेश नगरेको भन्सार प्रमुख विश्वकर्मा बताउँछन् । स्वास्थ्य सामाग्री र पेट्रोलिय पदार्थको खपत घटेका कारण आयात नभएको उनको भनाइ छ ।
मेची भन्सार कार्यालयमा आइतबार सम्पन्न सर्वपक्षिय छलफलबाट तत्काल नेपालमा भारतिय सवारी सधान र मान्छे आहोर दोहोर हुँदा कोरोनाको संक्रमण फैलिने जोखिम बढेको निश्कर्ष निकालिएको थियो । प्रदेश सांसद, मेचीनगर नगरपालिकाका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतको सहभागितामा भएको छलफलमा कोरोनाको निर्मुल नभएसम्म भारतिय सवारी साधनलाई नेपाल प्रवेश गराउन रोक लगाउने मेचीनगरका प्रमुख बिमल आचार्यले बताए ।
तत्कालको अवस्थामा विश्व नै ठुलो संकटमा परेको बेला भन्सारमा सहज बनाएर नेपाली नागरिकलाई जोखिममा पर्नु नहुने भन्दै उक्त सहमति गरिएको प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी बताउँछन् । अति आवश्यक खाना पकाउने ग्यास र स्वास्थ्य सामग्रीहरु बाहेक अहिले नेपालमा कुनै अन्य वस्तु भारतबाट आयात गर्नै पर्ने परिस्थिति नभएकाले पनि त्यस्ता सवारी सधानमा पूर्ण रुपमा रोक लगाउनु पर्ने अर्का प्रदेश सांसद श्रीप्रसाद मैनालीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्