मनिषा चम्लागाईँ |झापा

वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको पूर्वको पहिलो पाँचतारे ‘होटल मेची क्राउन’ सञ्चालनमा नआउने भएको छ । झापाको मेचीनगरपालिकामा भेगास सिटी इन्टरटेनमेन्टले सञ्चालनमा ल्याउन लागेको मेची क्राउन होटेल निर्माण कार्यसम्पन्न नहुँदा वैशाखदेखि सञ्चालनमा नआउने भएको हो ।
अहिले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानदिँदै होटल निर्माण कार्य रोकिएको छ । “हामीले वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने योजना बनाएका थियौँ” सञ्चालक बलराम सापकोटाले भने, “चैत २७ गतेदेखि नै बुकिङ् शुरु भएको थियो, भाइसको कारण सबै स्थगित भयो ।” होटल निर्माण कार्य ९० प्रतिशत सकिएको छ ।
पूर्वको मुख्य नाका काँकडभिट्टा र पर्यटनको राम्रो सम्भावना देखेर नै होटेल बनाइएको सञ्चालक बताउँछन् । पूर्वी नाका काँकरभिट्टादेखि भारत, बंगालादेश र भुटान छोटो दुरीमा रहे पनि सुविधासम्पन्न होटलको अभाव रहेको थियो । “कञ्चनजंघा हिमाल, ठूलो पाथिभरा, इलाम, भारतको दाजिलिङ, सिक्किम लगायतका पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरु सुविधासम्पन्न होटलको खोजिमा थिए” सापकोटाले भने, “यि पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकको रोजाइमा मेची क्राउन पर्ने छ ।”
भारतीय सीमाबाट नजिक भएकाले सीमापारिबाट आउने पर्यटकलाई लक्ष्य गरी होटल खोल्न लागिएको हो । भारतको बागडोग्रा विमानस्थल र झापाको चन्द्रगढी विमानस्थलबाट नजिक रहेको हुँदा भारत, बंगलादेश र भुटानबाट आउने पर्यटक यहाँ आउने उनको विश्वास छ । डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको मेची क्राउन होटेलको व्यवस्थापन पहिलो नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको छ । होटलको आर्किटेक्ट इन्जिनियर शैलेन्द्र बिसी र घनश्याम उप्रेतीले गरेका हुन् ।
कस्तो बन्ने छ होटल
आठ बिघा बढी जमिनमा निर्मित होटलको मुख्य भवन चारतले रहेको छ । ९ वटा ब्लक, पाँचवटा भिल्ला रहेको होटलमा १ सय ५ कोठा रहेका छन् । होटलमा पाँचवटा प्रेसिडेन्टल स्विट रुम, ३० वटा डिलक्स र बाँकी ७० वटा नर्मल डिलक्स रुम हुनेछन् । होटलमा हेलिप्याड, तीनवटा रेस्टुरेन्ट, पर्याप्त मात्रामा पार्किङ, स्विमिङ पुल, जिमहल, स्पा, साउना, पार्लरसहित सुविधा रहेने छ ।
होटलमा तीन हजार क्षमताको ठूलो व्याङवेट हलसहित तीनवटा सेमिनार हल छन् । होटलमा पार्टी, सभा समारोह गर्न एउटा १५ सय क्षमताको, एउटा ५ सय क्षमता र एउटा त्यसभन्दा सानो बैठक, समारोह हल तथा सभाहल निर्माण भइसकेको छ । होटल सञ्चालनमा आएपछि यसले करिब सात सय जनालाई रोजगारी दिने पनि उल्लेख छ । होटलमा नेपालीकै लगानी रहेकाले संरचना अत्याधुनिक हुने भए पनि हरेक कोठामा स्थानीय जनजातिको पहिचान झल्किने गरी निर्माण भइरहेको बताइन्छ । होटलमा व्यवसायी पवित्रकुमार कार्की, बलराम सापकोटा, राजकुमार बस्नेत, जयराम अर्याल लगायतको सामूहिक लगानी रहेको छ ।
होटलमा क्यासिनो
होटल मेची क्राउन सञ्चालनमा आएसँगै क्यासिनो पनि सञ्चालनमा आउने छ । होटलमा चर्चित भारतीय ब्रान्ड गोल्डेन क्यासिनो ग्रुपको प्रवेश भएको छ । होटल परिसरमा रहेको क्यासिनोलाई गोल्डेन ग्रुपले सञ्चालन गर्नेछ । क्यासिनो सञ्चालन गर्ने विषयमा होटल र क्यासिनो सञ्चालक समूहबीच सहमति भइसकेको छ । पूर्वमा क्यासिनो पर्यटनको सम्भावना रहेकाले क्यासिनो सञ्चालनमा ल्याइएको सापकोटा बताउँछन् । सरकारले पाँचतारे होटल वा सो सरहको सुविधामा मात्रै क्यासिनो सञ्चालन गर्न दिने गरेको छ ।
बिहे गर्न भारत तर्फ
झापा बिर्तामोडका व्यवसायी शिव अग्रवालले गत वर्ष वहिनीको विवाह गर्न सिलगढी पुग्नु प¥यो । नेपालमा सुविधासम्पन्न होटल नहुँदा विवाह गर्न कै लागि सिलगढी जानुपरेको उनी बताउँछन् । अग्रवाल मात्र होइन, पूर्वका अधिकांश व्यवसायी विवाह गर्न भारतको सिलगढी पुग्ने गरेका छन् । मेची क्राउन सञ्चालनमा आएसँगै विवाह गर्न कै लागि भारत पुग्नु पर्ने बाध्यता हट्ने अग्रवालले बताए । “झापामा पाँचतारे होटल सञ्चालनमा आउनु हाम्रो लागि खुशीको कुरा हो” अग्रवालले भने, “आफ्नै देशमा, स्वच्छ वातवरणमा बनेको होटल सबैको रोजाइमा पर्ने छ ।” कोही पाहुना आए पनि सुविधासम्पन्न होटलको अभावमा विराटनगर, सिलगढी धाउनु पर्ने अवस्था हटेको उनी सुनाउँछन् । काठमाडौँ जानका लागि खर्च धेरै साथै दुरी टाढा भएकाले भारतीय बजार पुग्ने गरेको अग्रवालको भनाइ छ ।
नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएकाले विवाह, सभा समारोह गर्न साथै स्वदेशी तथा विदेशी संस्था तथा माइस पर्यटनका लागि उपयुक्त हुने गरी होटलले पूर्वाधार निर्माण गरिएको सापकोटाले बताए । मेची क्राउन सञ्चालनमा आए पश्चात भारत पुग्नु पर्ने बाध्यता मात्र हट्दैन । विवाह भोज, सेमिनार जस्ता ठूला कार्यक्रमका लागि भारतमा खर्च हुने लाखौँ रुपैयाँ नेपालमा रहने सञ्चालक सापकोटा बताउँछन् । होटलले देशको अर्थतन्त्र मजबुत बनाउनसमेत सहयोग गर्ने उनको भनाई छ । भारत सीमा क्षेत्रभन्दा पाँच किलोमिटर वर रहेको होटलमा भारतीयलेसमेत विवाह समारोह आयोजना गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा गर्न आउने सञ्चालक बताउँछन् । विदेशी होटेलको चेन नेपालमा मात्र नभएर, नेपालको ब्राण्डलाई विदेशमा पु¥याउने लक्ष्य रहेको सापकोटाले जनाए ।

विद्यार्थीको अवलोकन थलो
मेची क्राउनमा होटेलमा म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीको अवलोकन भ्रमण गर्ने थलोसमेत बन्न थालेको छ । पूर्वका होटेल म्यानेजमेन्ट विषय अध्यापन गराउने विभिन्न क्याम्पसले विद्यार्थीलाई भ्रमणको लागि लान शुरु गरेका छन् । पूर्वमा पाँचतारे होटेल सञ्चालन नहुँदाको अवस्थामा यहाँका कलेजले काठमाडौँ, पोखरा र भारतसम्म विद्यार्थी भ्रमणका लागि लाने गर्दथे ।
अहिले भने मेची क्राउन एचएम सम्बन्धी विद्यार्थीको लागि अध्ययन भ्रमण र इन्टर्नसिपको उपयुक्त थलो बनेको छ । होटेल म्यानेजमेन्ट विषयको फ्रन्ट अफिस, हाउस किपिङ्ग, फुड एन्ड वेभरेज र फुड प्रोडक्सन सर्भिसको प्रयोगात्मक सिकाइ र अध्ययनको लागि विद्यार्थीलाई होटेल लाने गरिन्छ । विद्यार्थीलाई पाँच तारे होटेलको व्यवस्थापन र खानपानको विषयमा जानकारी गराउन पाउँदा होटेलको प्रचारसँगै उनीहरूको सिकाइ राम्रो हुने होटल सञ्चालक बताउँछन् । पछिल्लो समय युवायुवतीमा होटेल म्यानेजमेन्ट सम्बन्धी राम्रो क्रेज देखिन्छ, पूर्वमा सञ्चालित कलेजका विद्यार्थीहरु होटलमा नै काम गर्ने भएकाले पनि मेची क्राउन उपयुक्त थलो बन्ने देखिन्छ । कोरोना भाइसको जोखिम हट्नेसाथ होटल सञ्चालनमा ल्याइने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्