काठमाडौं (प्रस) प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहले कोरोना रोकथाम गर्न र जनतालाई आस्वस्त पार्ने काममा सरकार असफल भएको आरोप लगाएको छ । पार्टी महासचिव चन्दले शनिबार वक्तव्य जारी गदै प्रकोप रोकथामका लागि सरोकारवाला सबैसँग सहकार्यका लागि तत्पर रहेको पनि जनाएका छन् । ‘नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौं नेपाली नागरिकहरूले विविध खालका समस्याहरू भोग्नु परिरहेको छ,’ चन्दले वक्तव्यमार्फत आरोप लगाए । उनले यस महामारीसँग जुध्नका लागि सरकारलाई १६ बुँदे सुझाव र आफ्नो पार्टीले गर्ने ६ बुँदे कार्यसूची पनि वक्तव्यमार्फत प्रस्तुत गरेका छन् ।
यो पार्टीलाई सरकारले २०७५ फागुन २८ यता प्रतिबन्ध लगाउँदै आएको छ । विश्वव्यापी कोरोना संक्रमण महामारीको रूपमा फैलन थालेपछि यसअघि उक्त पार्टीले आफ्नो तर्फबाट संर्घषका कारबाही तत्काललाई स्थगन गरेको बताएको थियो । शनिबार उसले यस महामारीसँग जुध्न सबैसँग सहकार्य गर्न तयार रहेको बताएको हो । ‘कोरोना भाइरसविरुद्धको संघर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ,’ चन्दले भनेका छन्, ‘पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको संघर्षमा सहभागी बनिरहेका छन् । आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा र्पुयाउन र जनतालाई उपचारमा सहयोग गर्नेछ ।’

चन्दले सरकारी स्तरबाट भएको भ्रष्टाचारको भन्डाफोर भने यसबीचमा पनि जारी राख्ने बताएका छन् । कोरोना संक्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारी स्तरबाट भ्रष्टाचार व्याप्त रहेको भन्दै चन्दले त्यस्तो भष्टाचारको भन्डाफोर जारी राखिने बताएका हुन् । उनले नेपाल –भारत सीमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्