काठमाडौँ
कोभिड–१९ नियन्त्रणका लागि सरकारले आम नागरिकलाई घरबाहिर निस्किन प्रतिबन्ध (लकडाउन) लगाएसँगै इन्टरनेटको ब्यान्डविथमा चाप बढेको छ । कतिपयले अत्यावश्यकीय काम इन्टरनेटको माध्यमबाट घरबाटै गर्ने तथा अधिकांशले सूचना र मनोरञ्जनका लागि इन्टरनेटकै उपयोग गर्ने भएकाले ब्यान्डविथमा चाप परेको हो । यतिबेला अत्यावश्यकीय सेवा बाहेकका सबैजसो कार्यालय नखुलेका कारण सेवाप्रदायक कम्पनीहरूले इन्टरनेटको ब्यान्डविथ घरायसी उपभोक्तालाई उपलब्ध गराइ सहज व्यवस्थापन गरिरहेको जनाएका छन् ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानका अध्यक्ष भोजराज भट्टका अनुसार हाल इन्टरनेटको ब्यान्डविथ २५ देखि ३० प्रतिशतले बढेको छ । चाप बढेसँगै सेवा प्रवाहका लागि सरकारले नेटवर्क मर्मतका लागि अनुमति दिएको र मर्मत कार्य जारी राखिएको उनले बताए । “मंगलबार लकडाउनको पहिलो दिन भएकाले कति ब्यान्डविथ खपत भयो भनेर एकिन भन्नसकिने अवस्था छैन, निश्चय पनि ब्यान्डविथ बढेको छ र वास्तविक तथ्यांक भने २४ घन्टापछि मात्र उपलब्ध हुनेछ,” उनले भने, “यस्तो बेलामा हामीले आम उपभोक्तालाई सूचनामूलक सामाग्रीमा मात्र इन्टरनेट प्रयोग गर्न आग्रह गरिरहेका छौं ।” भट्टका अनुसार मुलुकमा कुल इन्टरनेट खपतको ८० प्रतिशत ब्यान्डविथ आइएसपीबाटै खर्च हुन्छ भने बाँकी दूरसञ्चार कम्पनीहरूमार्फत खपत हुन्छ । उनका अनुसार यससँगै कम्पनीहरूले ग्राहक सेवा केन्द्र खुला राखेर सेवामा कुनै कमी हुन दिएका छ्रैनन् । यही अवधिमा शुल्क भुक्तानी गर्नुपर्ने अवस्था रहे पनि ग्राहकको अनुरोधका आधारमा नवीकरण गरिने र सेवा अवरुद्ध नगरिने उनले जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणले पनि अहिलेको अवस्थामा इन्टरनेट खपत अस्वाभाविक रूपमा वृद्धि भएको भन्दै आफूलाई अति आवश्यक पर्ने एप्लिकेसनमात्र प्रयोग गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल भन्छन्, “ब्यान्डविथ हङ्ग्री एप (धेरै ब्यान्डविथ खपत हुने एप्लिकेसन)हरू प्रयोग नगरी सूचना प्राप्तिका लागि प्रयोग हुने एप्सहरूमात्र प्रयोग गर्न हामीले आग्रह गरेका हौं ।” अत्यधिक मात्रामा त्यस्ता एपहरू प्रयोग भएमा हालको क्षमताले धान्नसक्ने अवस्था नरहेको र अहिलेको जटिल परिस्थितिमा समस्या सिर्जना गर्नसक्ने उनले बताए ।
इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको अनुभवमा यतिबेला युट्युब, फेसबुक, ट्वीटर, भाइबर, इमो तथा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको प्रयोग सेवाग्राहीले बढी गर्ने गरेको पाइन्छ । यस्तै, सूचनाका लागि विभिन्न अनलाइन मिडियाका भिजिटर पनि बढेका छन् । सेवा प्रदायकका अनुसार यतिबेला संस्थागत उपभोक्तालाई भन्दा निजी तथा घरायसी उपभोक्तालाई सेवा प्रदानमा प्राथमिकता दिइएको छ । प्राधिकरणले पनि यस्ता कम्पनीलाई सहजीकरण गरिरहेको छ । “सरकारले लकडाउन गरेपछि आज (मंगलबार) मात्र नभइ केही दिनदेखि विश्वभर इन्टरनेट सेवा प्रदायक कम्पनीमाथि ब्यान्डविथको चाप छ,” अर्याल भन्छन्, “विश्वमा कोभिड–१९ को त्रासदी बढेसँगै नयाँनयाँ सूचनाको खोजी भइरहेको छ र आम उपभोक्ता यसमा अपडेट हुन चाहान्छन् र त्यसका लागि इन्टरनेट नै उनीहरूको पहिलो राजाइ हो ।” इन्टरनेटबाहेक टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाबाट पनि कोभिड १९ सम्बन्धी समाचार तथा सूचनाहरू प्राप्त गर्नसकिने अवस्था रहे पनि अधिकांशले सामाजिक सञ्जाल तथा अनलाइन मिडियालाई फलो गर्ने गरेको उनको बुझाइ छ ।
नेपालमा पनि सूचना पाउनका लागि सर्वसाधारणले विभिन्न एपहरू जस्तै फेसबुक, ट्वीटर, ह्वासएप भाइवर, इमो लगायतको उच्चतम प्रयोग गरिरहेका छन् । अहिले नेपाली समाजमा टेलिभिजन हेर्ने बानीमा पनि फरक आएको छ । स्याटेलाइट टेलिभिजन भन्दा युट्व तथा अनलाइन टेलिभिजनमाबाट सूचना लिनेक्रम बढेको छ । हात हातमा मोवाइल फोनको पहुँच र इन्टरनेटको सहजताले गर्दा नेपालमा सूचना लिने शैलि परिवर्तन भई छिटो छरितो भएको छ ।
नेपालमा इन्टरनेट सेवा प्रदान गर्न १२५ कम्पनीहरूले लाइसेन्स लिएका छन् । कतिपय कम्पनीहरू ग्रामिण क्षेत्रमा मात्रै सेवा दिने गरी लाइसेन्स लिएका छन् भने कतिपयले देशभर सेवा विस्तार गर्ने अनुमति लिएका छन् । धेरै ग्राहक हुने कम्पनीमा वल्र्ड्लिंक, भायोनेट, क्लासिक टेक, ब्रोडलिंक, सुबिसु, हिमालयन अनलाइन सर्भिसलगायत छन् । कारोबार बाट ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्