किरण आचार्य÷काठमाडौँ
भर्खरै स्वस्थानी व्रत कथा सकिएको छ । धार्मिक हिसाबले महत्वपूर्ण अंक मानिने १०८ को चर्चा पनि व्यापक बन्न थालेको छ । तर, यस पटक धर्मसँग सम्बन्धित नभएर प्रविधि वा ग्याजेटसँग सम्बन्धित १०८ अंकको चर्चा चुलिएको हो । क्यामराको गुणस्तरमा केन्द्रीत प्रविधि कम्पनीहरू एकपछि अर्को पावरफुल क्यामरा भएको स्मार्टफोन बनाउने प्रतिस्पर्धामा छन् ।
अधिक मेगापिक्सेल भएकोदेखि एउटै स्मार्टफोनमा टेलीफोनोदेखि अल्ट्रा वाइड लेन्ससम्म भएको स्मार्टफोन विश्व बजारमा ल्याउनमा प्रतिस्पर्धा गर्नेमा ह्वावे, सामसङ, गुगल पिक्सेल, एप्पल, एमआइ, भीभो, ओपो, रियलमी लगाएतका ब्राण्ड छन् । स्मार्टफोनको क्यामरा हालसम्मकै सर्वा्धिक १०८ मेगापिक्सेलको आउन थालेको छ । यसले एकातिर क्यामराको महत्व बुझाइरहेको छ भने किन १०८ मेगापिक्सेल नै ? भन्ने प्रश्न पनि जन्मिएको छ । किन १०० वा ११० मेगापिक्सेल राखिएन ? प्रविधि क्षेत्रमा यसको महत्व किन छ भन्ने प्रश्नको उत्तर पनि यो आलेखमा समेट्ने कोसिस गरिएको छ ।
विश्वको नम्बर एक स्मार्टफोन कम्पनीले हालै सार्वजनिक गरेको ग्यालेक्सी एस २० सिरिजमा १०८ मेगापिक्सेलको मुख्य क्यामरा राखेपछि यसको गुणस्तराका बारेमा प्रविधि साइटहरूमा रिभ्युहरू आउन थालेका छन् । १०८ मेगापिक्सेल क्यामरा भएको पहिलो स्मार्टफोन भने चिनियाँ कम्पनी एमआइले यसअघि नै सार्वजनिक गरिसकेको छ । पहिलो १०८ मेगापिक्सेल क्यामरा भएको एम नोट १० को चर्चा यसैपनि चलि नै रहेको थियो, सामसङले पनि यही गुणस्तरको क्यामरा सार्वजनिक प्रविधि साइटहरूको चर्चा १०८ मा केन्द्रीत छ ।

रहस्यमय अंक १०८
अंक १०८ निकै शुभ अंक मानिन्छ । हिन्दू धर्मशास्त्रसँग १०८ को सम्बन्ध बढी छ भने अन्य धर्मदेखि ज्योतिषशास्त्र, भाषा, अध्यात्म, आयुर्वेद र विज्ञान लगाएतका क्षेत्रसँग पनि १०८ अंककोे महत्व धेरै छ । नेपालको मुक्तिनाथ मन्दिरमा १०८ धारा छन्, पशुपतिमा १०८ शिवलिंग स्थापित गरिएको छ जहाँ धर्मालम्बीहरू परिक्रमा गर्छन् । शिवको प्रतिरुप मानिने रुद्राक्षको मालामा १०८ रुद्राक्ष रहेको कुरा नेपालीलाई थाहा भएकै कुरा हो । भगवान कृष्णको पालामा वृन्दावनमा १०८ गोपिनी थिए, मन्दिरमा पनि १०८ सिँढी राख्ने प्रचलन छ । वैष्णव धर्ममा पनि १०८ दिव्य क्षेत्रकै चर्चा हुन्छ । बौद्ध धर्ममा पनि मनको भावनालाई १०८ वटा रहने उल्लेख छ भने जप गर्ने मालामा १०८ नै संख्या हुन्छ । ज्योतिष शास्त्र अनुसार १२ राशिमा ९ ग्रह हुन्छन्, जसको योगफल १०८ हुन आउँछ । इसाइ धर्मको पुस्तकमा इसाइको मृत्यु १०८ वर्षमा भएको उल्लेख छ ।
मानिसको शरीरमा १०८ प्रकारका प्रेसर पोइन्ट हुन्छ भन्ने मान्यता छ । आध्यात्मवादका अनुसार मुटुनेर हुने हृदयचक्र १०८ शक्ति रेखाहरू मिलेर बनेका हुन्छन् भने ध्यान गर्ने तरिका पनि १०८ नै हुन्छन् । रासायन शास्त्रमा चाँदीको परमाणविक तौल १०८ हुन्छ । ब्रह्माण्डका तत्व जल, वायु, अग्नी, धर्ती र आकार तत्वलाई पञ्च भूजाकारमा राखिएको छ । जसको प्रत्येक कुनाको योग १०८ डिग्री हुन्छ । महाभारत क्षेत्रमा बग्ने गंगा नदी १२ डिग्री देशान्तर र ९ डिग्री अक्षांशमा फैलिएको छ जसको गुणा १०८ हुन्छ । यी र यस्तै थप महत्व र संयोगको अंकका रुपमा १०८ लाइ लिने गरिन्छ ।

क्यामरामा १०८ मेगापिक्सेल नै किन?
स्मार्टफोनहरूमा अधिकतम ४८ मेगापिक्सेल चलिरहेको बेला एमआइको र सामसङले एक्कासी १०८ मेगापिक्सेल अपग्रेड गरेका छन् । मुख्य क्यामरा १०८ मेगापिक्सेल भए पनि बाँकी क्यामरा र क्यामरा सेन्सर लगाएतले फोटोको गुणस्तर फरक हुन सक्छ । तर, १०८ नै किन? प्रविधि कम्पनीहरूले किन १०८ मेगापिक्सेल पछ्याइरहेका छन् भन्ने बारेमा खासै स्पष्ट पारेका छैनन् । तर, पिक्सेल डेन्सीटीको हिसाबले रिज्योलुसनका अनुसार उचाइ ९ हजार र चौडाइ १२ हजार रिज्योलुसन छ । यो रिज्योलुसन भनेको कुल पिक्सेलको संख्या १० करोड ८० लाख हुनु हो । पिक्सेल बढी हुनु भनेको क्यामराबाट खिचेको भिडियो गुणस्तर भनेको फोर के सिनेमा सरहको हो । प्राविधिक रुपमा यो गुणस्तर भनेको सोनी, क्यानन, निकोन लगाएतका चल्तीका क्यामरा उत्पादक कम्पनीको पछिल्ला डिएसएलआर भर्सनका क्यामरा भन्दा दोब्बरले बढी हो । यद्यपी डिएसएलआर र क्यामरा फोनको पिक्सेललाई एउटै मापदण्डमा नाप्न भने सकिँदैन । किनकी मेगापिक्सेलले मात्र भन्दा पनि अपरचर, सटर स्पीड, सेन्सर, लेन्सको गुणस्तर, सफ्टवेयर लगाएतका धेरै प्राविधिक कुराले फोटोको वास्तविक गुणस्तरमा फरक पार्दछ ।

ट्रेन्ड सेटर
अन्य ब्राण्डले फोटोलाई प्राथमिकता दिएर छलाङ मार्दै गर्दा सामसङ भने विस्तारै आफूलाई अपग्रेड गर्दै थियो । तर, एस २० सिरिजबाट भने आफूलाई नम्बर एक ब्राण्डमा स्थापित गर्न चुनौतिलाई सामना गर्ने गरि अगाडि आएको देखिन्छ । किनकी यसअघिको एस १० र नोट १० मा अधिकतम १० मेगापिक्सेलको क्यामरा छ भने एस २० अल्ट्रामा १०८ । विश्वमा सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्दै आएको सामसङले हालसम्मैको सबैभन्दा बढी मेगापिक्सेल अर्थात् एम आइ नोट १० सरह नै क्यामरा राखेर आफूलाई नम्बर एकमै दरिने मार्गप्रस्त गरेको छ । यी दुई कम्पनीले क्यामरामा देखाएको नयाँ प्रवृत्तिले बाँकी कम्पनीलाई पनि चुनौति दिने देखिएको छ । किनकी विश्वभर नै मोबाइलमा अरु गुणसँगै क्यामराको गुणस्तरमा उपभोक्ताले बढी चासो दिने गरेका छन् ।
एमआइ र सामसङको क्यामरा तुलना गर्दा नोट १० प्रो र सामसङ एस २० अल्ट्राको १०८ मेगापिक्सेलको गुणस्तर करिव करिव उस्तै छ । एमआइको एफ १.७ अपरचर छ भने सामसङको १.८ एमएम तथा एमआइको क्यामरा २५ एमएम र सामसङ २६ एमएम वाइड छ । दोस्रो र तेस्रो रियर क्यामरा भने सामसङको गुणस्तरिय छ । एमआइको १२, ५ र २० मेगापिक्सेलको टेलिफोटो र अल्ट्रा वाइड क्यामरा छ भने सामसङको ४८ र १२ मेगापिक्सेलका क्यामरा छन् । मूल्यमा पनि सामसङको दोब्बर महंगो छ । एमआइ नोट १० प्रोको अन्तराष्ट्रिय मूल्य करिव ८० हजार र सामसङ एस २० अल्ट्राको डेड लाख माथि छ । यद्यपी स्मार्टफोन किन्ने भनेको आफ्नो आवश्यकता र रुची अनुसार हो । यस अर्थमा यी दुबै फोन फोटोग्राफीमा बढी चासो राख्नेका लागि उपयोगी हुने देखिन्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्