झापा
भारत सरकारले सिटामोलबाहेकका २४ प्रकारका औषधि र त्यसको कच्चा पदार्थको निर्यात फुकुवा गरेको छ । विदेश व्यापार महानिर्देशनालयले सोमबार एक सूचना जारी गर्दै २४ प्रकारका औषधि र तिनको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध फुकुवा गरेको हो ।
विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै टिनिडाजोल, मेट्रोनिडाजोल, भिटामिन बी–१, भिटामिन बी–६, भिटामिन बी–१२, ओरनिडाजोल, नियोमाइसिन, क्लोरामफेनिकल, इरिथ्रोमाइसिनलगायत २४ वटा औषधिहरुको निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएको हो ।
बाणिज्य तथा आपूर्ति सचिव डा। बैकुण्ठ अर्यालले औषधि र यसका कच्चा पदार्थ निर्यात गर्ने भारत सरकारको निर्णय नोटिसमा आएको जानकारी दिए । भारतको निर्णय भन्सारको जानकारीमा आएको भन्सार विभागले जानकारी दिएको छ ।
पारा सिटामोलबाहेक अन्य औषधि निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको जानकारी आफूले पाएको नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष मारुती फर्मास्युटिकलका प्रबन्ध निर्देशक प्रभात रुगंटाले बताए ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतले गत मार्च ३ मा विभिन्न २६ किसिमका औषधि र त्यसको कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।
कोरोना भाइरस संक्रमणका कारण औषधीको ग्लोबल सप्लाई चेन बिग्रिएपछि भारत सरकारले विभिन्न औषधीहरुको निर्यातमा रोक लगाएको थियो । भारत विश्वमै औषधीहरुको सबैभन्दा ठूलो निर्यातकर्ता देशमध्ये एक मानिन्छ । प्रतिबन्ध खुला भएपछि अब यी औषधीहरु अन्य देशमा पठाउन सकिन्छ । तर प्यारासिटामोल माथिको प्रतिबन्ध भने हटाइएको छैन । भारतले आन्तरिक रुपमा औषधीको आपूर्ति सहज भएपछि मात्र यसको निर्यातबारे सोच्न सकिने बताएको छ ।
रोयटर्सका अनुसार भारतले एन्टी मलेरिया ड्रग हाइड्रोक्सिक्लोरोक्विन माथिको निर्यातलाई भने आंशिक रुपमा खुला गर्ने भएको छ । यसअघि उसले यो औषधिमा पनि रोक लगाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत शनिबार भएको टेलिफोन वार्तापछि भारतले यो औषधीमाथिको प्रतिबन्ध हटाउन तयार भएको हो ।
दुई देशका शीर्ष नेताबीचको कुराकानीपछि भारतले आवश्यक औषधीहरुको आपूर्ति गर्न सहमत भएको ह्वाइट हाउसका प्रवक्ताले समेत जानकारी दिएका थिए । तर भारतमा यी औषधीहरुको पर्याप्तता सुनिश्चित गरेपछि मात्र यी औषधी अन्य देशमा निर्यात हुने भारतीय पक्षले जनाएको छ ।
भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवका अनुसाार प्यारासिटामोल र हाइड्रोक्सिक्लोरोक्विनको मागलाई निरन्तर नियमन गरी अत्यावश्यक मौज्दात राखेपछि मात्रै भारतले मानवीय सहायताका दृष्टिले अत्यावश्यक देखिएका अन्य देशहरुमा पठाउने निर्णय गर्नेछ ।