राजेन्द्र गौतम / ( झापा ) ।।झापा शिवसताक्षी नगरपालिका -६ का वडाध्यक्ष मनोज खुलाल कार्की (२९वर्ष ) जिल्लाकै कान्छा वडाध्यक्ष हुन् । तर, उनी अहिले जिल्लामा चर्चामा छन् । कोरोना संक्रमणबाट जोगिन घरभित्रै बसेका बिपन्न नागरिकलाई समयमा नै राहत सामग्री पुर्‍याएपछि उनको चर्चा चुलिएको हो ।                           जिल्लाका १५  पालिकाका १३३  वडाध्यक्ष मध्ये कान्छा वडाध्यक्ष खुलालले शनिबारसम्ममा  बिपन्न र दैनिक ज्यालादारीमा जीवन गुजारा गरिरहेका  १७५ परिवारलाई सरकारले तोकेको मापदण्ड अनुसार नै राहत उपलब्ध गरिसकेका छन् । उनले आफ्नै  अग्रसरतामा राहत उपलब्ध गराएको बताए ।   ” दैनिक ज्यालादारी गर्ने र बिपन्न परिवारबाट भोकभोकै परेको तारन्तार खबर आउन थाल्यो” उनले भने,- मानवीय नाताले पनि उहाँहरुलाई भोकै नराख्नु मेरो दायित्व हो,त्यही भएर तीन दिन लगाएर राहत बितरण गरियो, मैले वडा सरकारकाे जिम्मेवारी निर्बाह गरेको हुँ । खुलालले अमेरिकामा रहेका आफ्ना दाजु र वडाबासी , शिवसताक्षी उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस उपशाखा शिवसताक्षी, जनआदर्श मावि शिवगञ्जका पूर्व विद्यार्थीहरुको संगठन मिसन रेब्युल्ड नेपाल र इलाका प्रहरी कार्यालयको सहयोग र समन्वयमा बिपन्न नागरिकको घरघरमै पुगेर राहत उपलब्ध गराएको बताए । बिपन्न परिवारलाई राहत उपलब्ध गराउन अञ्जनी अग्रवाल,सञ्जय अग्रवाल,अरुणकुमार मित्तल, दिनेश श्रेष्ठले आर्थिक सहयोग गरेको उनले बताए । कार्कीले  तीन दिन लगाएर सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।                                            खान नपाउनेलाई राहत उपलब्ध गराउन र बिपन्न परिवारको सुची तयार पार्न जिल्लामा धौधौ परिरहेका बेला वडाध्यक्ष कार्कीले काम नै फत्ते गरेको शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष भोला मैनालीको भनाइ छ । ” उहाँले ज्यालादारी गर्ने र बिपन्न परिवारको तथ्यांक लिइसक्नु भएको   रहेछ” अध्यक्ष मैनालीले भने ,- हामीसँग सहयोगको आग्रह गर्नु भयो, सबै मिलेर राहत बितरण गर्‍यौं ।                    रेडक्रस उपशाखाका सभापति नारायण दाहालले वडाध्यक्ष कार्कीको अग्रसरता र कामको खुलेर प्रसंशा गरे । “२८/ २९ वर्षको युवा अल्लारेले के गर्छ होला भन्ने लागेको थियोे” दाहालले भने,- सबै नागरिक एकान्तबासमा रहेको बेला मनोजको अग्रसरता र कामले मतदानको मन जितेको छ । अन्यत्र अनुभवले खारिएका र पाका वडाध्यक्ष भए पनि समयमै राहत दिन नसकिरहेको दाहलको तर्क छ । वडाध्यक्ष कार्कीलाई वडासदस्यहरु बद्री खनाल,लक्ष्मी गुरागाईँ,उषादेवी खड्का,नरमाया परियारको दर्बिलो साथ छ।                                                  सरकारले एकद्वार प्रणालीबाट मात्रै  राहत उपलब्ध गराउने नीति लिएको छ । वडाध्यक्ष कार्कीले भने,- मैले हतार गरेको जस्तो देखियो,तर सरकारी रकम खर्च गरेको होइन,खाना नभएकालाई त्यसको प्रबन्ध गर्नु मेरो जिम्मेवारी हो । उनले नगरपालिकाको ढिलासुस्तीले खान नपाउने नागरिकमा समस्या उत्पन्न हुने खतरा रहेको औंल्याए । भने,- फास्टट्रयाकबाट काम गर्न सकिएन भने नागरिकलाई भोकबाट जोगाउन निक्कै हम्मे पर्छ ।                                           शिवसताक्षी -६ मा  चार सय घर परिवार छन् । ती मध्ये १७५ दैनिक ज्यालादारी गर्ने र बिपन्न रहेको कार्कीले बताए । उनले १७५ परिवारलाई चामल, दाल, नुन,तेल, साबुन र मास्क वितरण गरेको बताए । सरकारले दुई जनासम्मको परिवारलाई १५ किलो चामल,पाँच जनासम्मको परिवारलाई २० किलो चामल र पाँच जना भन्दा बढीको परिवारलाई २५ किलो चामल,प्रती परिवार २ किलो दाल,एक लिटर  तेल,एक किलो नुन र एउटा साबुन उपलब्ध गराउने नीति लिएको छ । सोही कार्यविधि र नीति भित्र रहेर आफूले राहत उपलब्ध गराएको कार्कीले बताए । परिवारको संख्या अनुसार थप मास्क वितरण गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्