काँकरभिट्टा, चैत २८ । निर्वाचनताका फरक—फरकरुपमा प्रस्तुत हुने राजनीतिक दलहरु विपद्का वखत एक ठाउँमा उभिएका छन् । झापा मेचीनगरमा क्रियाशील चारवटा राजनीतिक दलहरुले विपद्का बखत एक ठाउँमा उभिएर बिहीबार मेचीनगर नगरपालिकाको प्रकोप व्यवस्थापनको खातामा एकलाख बढी रकम जम्मा गरेका छन् ।

आस्था र विचारमा फरक—फरक भएपनि वा निर्वाचनका बखत एकअर्कासँग प्रतिस्पर्धा गरेपनि देशमा संकट पर्दा एक ठाउँमा उभिनुपर्छ भन्ने मेचीनगरका राजनीतिक दलले सकारात्मक सन्देश दिएका छन् । ती दलले जो जो जुनसुकै विचार र आस्थामा भएपनि नागरिकको दुःख पीडामा एक ठाउँमा छाँै र मल्हम पट्टीको काममा सधै साथ सहयोग रहने छ भन्ने सकारात्मक सन्देशसहित उदाहरण प्रस्तुत गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, समाजवादी पार्टी र राप्रपाले मेचीनगर नगरपालिकाको प्रकोप व्यवस्थापनको खातामा सहयोग रकम जम्मा गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।

नेकपा मेचीनगर समिति तथा नेपाली काँग्रेस मेचीनगरले ५१÷५१ हजार रुपैयाँ नेपाल बैंकमा जम्मा गरी भौचर हस्तान्तरण गरे भने समाजवादी पार्टी मेचीनगरले १५ हजार १५ रुपैयाँ र राप्रपा मेचीनगरले १५ हजार रुपैयाँ कोषमा जम्मा गरेका थिए । अपरान्ह चारवटै दलका नेताहरु एकसाथ नगरपालिका पुगेर नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई रकम बराबरको भौचर हस्तान्तरण गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।
पार्टीले जम्मा गरेको राहत रकमको भौचर हस्तान्तरणका लागि नेकपाका मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नगर सचिव राजु पोखरेल, क्षेत्रीय सचिव प्रकाश भण्डारी , नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेती, मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, प्रदेश ‘क’का सभापति हर्कबहादुर लिम्बू फियाक, मेचीनगर सचिव हस्त आङदम्बे, बसन्त तिवारीलगायत नगरपालिका पुगेका थिए ।

समाजवादी पार्टीका नेता चन्द्रजीत राई, गोकुल हुमागाईँ, मेचीनगर नगर अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाबाट नगर अध्यक्ष सुशील आचार्यले रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्