बिर्तामोड,चैत २८ । बिर्तामोड —३ का किसान सुवाष महतोको मकै पहेलिसक्यो । रासायनिक मल लगाउन नपाउँदा तीन विगाहामा लगाएको उनको हाइब्रिड मकै बिग्रिने भयो । त्यसैले मलको लागि उनी भौतारिरहेका छन् । तर, भेटेका छैनन् । त्यस्तै दक्षिण पश्चिमी क्षेत्रका किसानहरुले रासायनिक मल लिनकै लागि लकडाउनको पर्वाह गरेनन् । कोरोना भाइरसको महामारीका बीच किसानहरु भीडामभीड गर्दै सहकारी संस्थामा मल लिन गए । चैत ११ गतेदेखि सरकारले लगाएको लकडाउनको कुनै ख्यालै नगरी सामाजिक दुरी पनि कायमै नगरी किसानहरू बुधबार आधा रातदेखि लाईनमा बसेका थिए । तर, मल पाएनन् ।
बिर्तामोड र गौरीगञ्ज—गौरादहका किसानहरुको मात्र यो समस्या होइन । यतिखेर रासायनिक मल नपाएर झापाभरिका किसानहरु प्रभावित छन् । मकै र चैते धानमा मल लगाउने बेलामा बजारमा मल नपाएपछि बाली बिग्रिने चिन्ताले किसान पिरोलिएका छन् । मल आपूर्ति गर्ने कृषि सामग्री संस्थान र साल्ट ट्रडिङ कर्पोरेशनले आबश्यक मल नदिएपछि किसान मर्कामा परेका हुन् ।
‘मल अभाव छैन ’
कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशनले मल अभाव नभएको दावी गरेको छ । कृषि सामग्री संस्थान बिर्तामोडका प्रमुख चन्द्र चौलागाईँ मल अभाव नभएको बताउँछन् ।उनी भन्छन्‘ मल अभाव छैन तर किसानलाई पुगेको पनि छैन ।’उनले सहकारी संस्थालाई ५०÷५० बोरा मल उपलब्ध गराएको बताए । आफ्नो कार्यालयले बुधबार साढे २१०० बोरा मल वितरण गरेको जानकारी दिए । विराटनगरबाट मल आउने क्रममा रहेको उनको भनाइ छ । कृषि सामग्री संस्थानले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत मल आपूर्ति गर्दै आएका छन् । आफ्नो कार्यालयले ५०÷५० बोरा मल उपलब्ध गराएकोमा एउटा सहकारी संस्थाले ५०० बोराभन्दा बढी माग गरेको चौलागाईँले बताए । कृषि सामग्रीसँग एक सयवटा डिलर रहेको बताइएको छ ।
त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोडका प्रमुख देवेन्द्र भट्टराईले आफूले डिलरहरुलाई ३५÷३५ बोरा मल दिदै आएको बताए । उनले पनि विराटनगरबाट मल आउने क्रममा रहेको जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण सरकारले लगाएको लकडाउनबाट बीचमा केही समस्या आएको स्वीकार्दै उनले अहिले चाहिँ नभएको बताए । बैंक बन्द हँुदा मल खरिद प्रक्रियामा केही दिन समस्या भएको उनको भनाइ छ । त्यस्तै लकडाउनका कारण मल ढुवानीमा समस्या आएको कृषि सामग्री संस्थानका प्रमुख चौलागाईँले बताए । झापामा १० हजार मेट्रिक टनभन्दा बढी मल आबश्यक हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्