शिवसताक्षी ,चैत २८ । नेपाली कांग्रेस शिवसताक्षी नगरले नगरपालिकाद्वारा गठित कोरोना संक्रमण रोकथाम कोषमा १ लाख ६५ हजार बढी सहयोग गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा लकडाउनका कारण विपन्न वर्गलाई खाद्यान्न राहतमा सहयोग पुर्याउन पार्टीले शिवसताक्षी नगरको राहत संकलन, व्यवस्थापन तथा वितरण समन्वय कोषका संयोजक समेत रहेका नगरप्रमुख चन्द्रकुमार शेर्मालाई बिहीबार १ लाख ६५ हजार ५ सय ६६ रुपैयाँ दिएको कांग्रेस शिवसताक्षी नगरका सहसभापति विनोद ढकालले जानकारी दिए ।
विपतका बेला सबै दल मिलेर सामना गर्नुको विकल्प नभएकाले त्यस्तो सहयोग उपलव्ध गराईएको नगर सभापति पर्शुराम ढुँगानाले बताए । उनले भने,‘स्थानीय सरकारसँग मात्र होइन नेपाली कांग्रेस प्रदेश र संघीय सरकारसँग पनि विपतका बेला संगै हुनेछ ।’
कांग्रेसका युवा नेता विनोद ढकाल, अशोक बस्नेत, रमेश राई, होम दुलाल लगायतका पार्टी नेता कार्यकर्ताहरुको अगुवाईमा नगरका ११ वटै वडाका कार्यकर्ताहरुबाट सहयोग संकलन गरिएको थियो ।
विपतमा परेका बेला सरकार र सर्वसाधरण जनतासँग सहयोगी बन्न कांग्रेसले स्थानीय सरकारसंग हातेमालो गरेको कांग्रेसका पूर्व क्षेत्रीय सभापति नारायण प्रसाद बजगाईले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेसका महासमिति सदस्य शिवकुमार योङया, पूर्व जिल्ला समिति सदस्य चन्द्रमणि नेपाल, पूर्व महासमिति सदस्य सुर्यनारायण ताजपुरिया, महिला संघकी जिल्ला सदस्य जयकुमारी चेम्जोङ, नगर कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
शिवसताक्षीको कोरोना राहत कोषमा हालसम्म २९ लाख ५० हजार ३ सय ५० रुपैयाँ नगद जम्मा भएको छ । नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालका अनुसार कोषमा विभिन्न दाताबाट चामल १४,४७५ किलोग्राम, दाल १६४९ किलोग्राम, नुन १७१७ किलोग्राम, खानेतेल ७९६ लिटर, साबुन २३४५ थान जम्मा भएको हो ।
नगरमा हालसम्म १७२७ विपन्न परिवारले राहत पाएका छन् भने ५ सय ९६ परिवारले राहत पाउन बाँकी रहेको उनले बताएका छन् ।