झापा, चैत २८ । १ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदेश २ बाट आउने सवारी साधन तथा व्यक्तिहरुलाई पूर्णतया रोक लगाएको छ ।
जसको लागि कोशी व्यारेज तथा सुनसरीकै चतरा पुल र उदयपुरको रामपुर ठोक्शिलामा चेक पोष्ट राखेर २४ सै घण्टा चेकिङको व्यवस्था मिलाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
कोरोना महामारी रोगको संक्रमण नफैलियोस् भनेर प्रहरीले प्रदेशका नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमन नियन्त्रण गर्न, लकडाउनको समयमा हुन सक्ने आपराधिक गतिविधिहरु नियन्त्रण गर्न तथा अवैध चोरी निकासी समेत नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको जनाएको छ । प्रदेश १ प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत तथा प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले झापा, मोरङ र सुनसरी जिल्लाका सीमा ईलाकाहरुलाई विभिन्न सेक्टरमा बिभाजन गरी सिनियर प्रहरी अधिकृतलाई थप जनशक्तिसहित खटाईएको बताए ।
तिम्सिनाका अनुसार सिमावर्ती क्षेत्र बोर्डर लक गर्नका लागि अस्थायी प्रहरी पोष्ट थप गरी झापा जिल्लाको लागि १ सय ३५ जना, मोरङ जिल्लाको लागि ८० जना र सुनसरी जिल्लाको लागि १ ससय १२ जना थप जनशक्ति खटाइएको छ ।
यस्तै लकडाउन कार्यान्वयनको अवस्थालगायत प्रहरीहरुको काम कारवाहीलाई अनुगमन गर्नको लागि सशस्त्र प्रहरी गण रानी, दंगा नियन्त्रण प्रहरी गण दुहवी र १ नं. प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकको कमाण्डमा अनुगमन टोली परिचालन गरी नियमित अनुगमनको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।