बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले लकडाउनमा कामविहीन बनेका नगरका ६ हजार ९ सय परिवारलाई ५० लाख मूल्यको खाद्यान्न वितरण गरेको छ । दैनिक ज्याला मजदुरी गर्ने, एकल र विपन्न नागरिकलाई सरकारले तोकेको मापदण्डअनुरुप खाद्यान्न उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
विपन्न परिवारलाई चामल, दाल, नुन वितरण गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुर्वकुमार शिवाकोटीले बताए । नगरले स्थानीय मिलमा उत्पादन भएको गुणस्तरीय चामाल सुपत मूल्यमा खरिद गरेको प्रमुख शिवाकोटी बताउँछन् । ‘हामीले गुणस्तरीय चामल कम मूल्यमा खरिद ग¥र्यो, मन्सुली चामल प्रतिकिलो ३७.५ रुपैयाँदेखि ४० रुपैयाँसम्ममा किनेका छौँ’ शिवाकोटीले भने, ‘मुसुरीको दाल प्रतिकिलो ९८ रुपैयाँमा खरिद गरेका हौँ ।’ नुन साल्ट ट्रेडिङले निर्धारण गरेको मूल्य अनुसार खरिद गरेको नगरपालिकाले जनाएको छ ।
यसअनुसार नगरले १ लाख १९ हजार किलो मन्सुली चामल वितरण गरेको हो । ‘प्रतिव्यक्ति ४ किलोका दरले चामल वितरण गरेका छौँ’ प्रमुख शिवाकोटीले भने, ‘८ जनाको परिवार हुनेले ३० किलोसम्म चामल पाएका छन्, नगरको योजना अनुसार ८ जनाको परिवारले ३२ किलो चामल पाउने भए पनि राज्यको नीति अनुसार प्रतिपरिवार ३० किलो भन्दा धेरै चामल वितरण गर्न नपाइने हुनाले सोही अनुरुप वितरण गरेका हौँ ।’ नगरपालिकाको –२, ३, ४, ५ नम्बर वडामा बढी विपन्न परिवारको बसोबास रहेको नगरले जनाएको छ । प्रथम चरणको राहत वितरण शनिबार (भोली) वितरण गरिसक्ने लक्ष्य नगरले राखेको छ । प्रथम चरणमा राहत पाउनबाट छुटेका परिवारलाई कार्यपालिकाको बैठक बसेर पुनः राहत वितरण गर्ने प्रखुम शिवाकोटी बताउँछन् ।
जनप्रतिनिधिको तलब राहत कोषमा
कोरोना भाइरसको जोखिम बढे अझै राहत आवश्यकता पर्ने भन्दै बिर्तामोड नगरपालिकाका सबै जनप्रतिनिधिले एक महिनाको तलब÷भत्ता राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । ‘लकडाउन लम्बिए खाद्यान्न अभाव अझै बढ्न सक्छ’ शिवाकोटी भन्छन्, ‘सोहीअनुसार जनप्रतिनिधि र प्रशासकीय अधिकृत लगायत केही कर्मचारीसाथीहरुले पनि राहत कोषमा रमक जम्मा गर्नु भएको छ ।’ भोली आउने जोखिमलाई ध्यान दिदैँ नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र दाताहरुले उपलब्ध गराएको ४९ लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको छ ।