भद्रपुर , चैत २८ । मेची अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका अर्का एकजनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
बाह्रदशी गाउँपालिका—१ घर भएका ती युवक चार दिनअघि आइसोलेसन वार्डमा भर्ना भएका थिए । कोरोना भाइरस संक्रमित युवती जो फ्रान्सबाट नेपाल फर्केकी थिइन्, तिनै युवतीसँगै ती युवक एउटै विमानमा आएका थिए । घर फर्किएपछि केही दिन होम क्वारेन्टाइनमा राखेर उनलाई राजगढमा तयार गरिएको क्वारेन्टाइनमा ल्याइएको थियो ।
दुई सातासम्म क्वारेन्टाइनमा बस्दा कोरोना भाइरसको कुनै लक्षण देखा नपरेको अबस्थामा स्वाब टेष्टको लागि उनी आइसोलेसनमा भर्ना भएका थिए । उनको रिपोर्ट नेगेटिभ आएको र आजै डिस्चार्ज गरिएको मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए । उनीसँगै आइसोलेसनमा भर्ना भएका सबै ८ जनाको रिपोर्ट नेगेटिभ आएको हो । मेची अञ्चल अस्पतालको आइसोलेसनमा अझै तीन जना उपचाररत छन् । अस्ति एकजना र आज दुईजना भर्ना भएका हुन् ।