भद्रपुर , चैत २९ । तरकारी खेतीमार्फत जीवन गुजारा गरिरहेका उत्तरी झापाका अधिकांश किसान आफ्नो उत्पादन बेच्न नपाएर समस्यामा परेका छन् ।
कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि गरिएको लामो लकडाउनका कारण बारीमा उत्पादन भएका तरकारी बजार पठाउन नसकेर उनीहरुलाई समस्या भएको हो । साहुको ऋण र वर्षभरि परिवार धान्ने आर्थिक जोहो गुम्ने खतरा बढेको भन्दै कृषकहरू निराससमेत भएका छुन् । उत्तरी झापाका किसानका बारीमा उत्पादित तरकारी उपभोक्ताको घर—घरमा पुग्न नसकिरहेका बेला भारतीय बजारबाट ट्रकका ट्रक तरकारी भित्रिने गरिरहेको छ । सवारी साधन लिएर खुद्रा व्यापारी उत्तरी झापा पुग्न नसक्ने तर, भारतबाट खाद्यान्न लिएर सवारी साधन नेपाल प्रवेश पाउने भएपछि उत्तरी झापामा उत्पादित साग सब्जी बारीमै कुहिने अवस्था आएको हो ।
साविकका बाहुण्डाँगी, शान्तिनगर, बुधवारे, खुदुनावारी लगायतका क्षेत्रमा व्यावसायिक रूपमा तरकारी खेती हुने गरेको छ । यस क्षेत्रबाट उत्पादित तरकारी बिर्तामोडस्थित कृषि थोक बजारमा लगेर कृषकले बेच्ने गरेका छन् । दुई हप्तायता कृषिथोक बजार बन्द छ । त्यसैले उत्तरी झापामा उत्पादित सागसब्जी बारीमै कुहिन थालेको हो । सामुहिक र व्यक्तिगत प्रयासमा गरिएको तरकारी खेतीले झापा लगायत आसपास क्षेत्रको माग धानिरहेको छ । तर, मुख्य बजार बन्द भएपछि कृषकका उत्पादन खेत बारीमै सीमित बनेको पीडित कृषकहरूको गुनासो छ ।
बुद्धशान्ति— ५ शान्तिनगरका कृषक धनबहादुर श्रेष्ठले त्यस वडामा मात्र २ सय विगाहा बढी क्षेत्रफलमा लगाइएको तरकारीजन्य उत्पादन बजार पठाउन नसक्दा कुहिने अवस्था पुगेकोे बताए ।