बिर्तामोड, चैत २९ । लकडाउनका कारण कपाल दारी काट्न नपाएर तपाईले दिक्क मान्नु भएको त छैन ?चिन्ता नगर्नस् तपाईले सैलुनको सुविधा घरैमा पाउनु हुन्छ ।
लकडाउनका कारण सैलुन बन्द भएर कपाल दारी काट्न नपाइरहेका ग्राहकका लागि हजामहरुले घरैमा सेवा दिन थालेका हुन् । केवल तपाईले खबर गर्नु पर्छ । सैलुनको सुविधा लिएर उनीहरु घरमै आइपुग्छन् । लकडाउनका कारण सैलुन बन्द भएका हजामहरुले ग्राहकको सेवा र आफ्नो गुजाराका लागि घर—घरमा गएर सेवा दिन थालेका हुन् । बिर्तामोडको पुरानो भद्रपुर रोडमा सैलुन खोलेका रन्जित ठाकुरले लकडाउन शुरु भएदेखि नै आफूले घरदैलोको सेवा दिन थालेको बताए । उनले कतिपय ग्राहकलाई आफ्नो घरमा बोलाउने गरेको र कतिपय ग्राहकको घरमै पुग्ने गरेको जानकारी दिए । ‘मसँग साधन छैन’ उनले भने, ‘त्यसकारण टाढा चाहिँ जान सक्दिनँ ।’ आफ्ना नियमित ग्राहकहरुले बढी बोलाउने गरेको लामो समयदेखि बिर्तामोडमा कपाल काट्दै गरेका ठाकुरको भनाइ छ ।
त्यसैगरी बिर्तामोड—३ सैनिकमोडका राजकिशोर ठाकुरले पनि त्यस किसिमको सेवा दिदै आएका छन् । उनले पनि आफ्नै र ग्राहकको घर गरी दुवै प्रकारको सेवा दिइरहेको बताए । विगतमा कपाल काट्ने हजामहरुले पालीमा कपाल दारी काट्ने गरेका थिए । जुन पाली प्रथा अझै पनि ग्रामीण क्षेत्रमा कायमै छ । हजामले घरमै आएर कपाल दारी काटिदिने र उनीहरुले ज्यालाको रुपमा नगद नलिई वार्षिक रुपमा एकमुष्ठ अनाज लिने पाली प्रथा रहेको थियो ।