राजगढ, चैत २९ ।झापाको बाह्रदशी गाउँपालिकाले पहिलो चरणमा गाउँपालिकाभित्रका २ हजार ९०९ विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्न जारी लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई एक चरण राहत बाँडिसकिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वडा नं. १ मा ४४५, २ मा ४४७, ३ मा ४३१ , ४ मा ५५१, ५ मा २६८, ६ मा ४०९ र वडा नं. ७ मा ३५८ परिवारलाई राहत वितरण गरिएको हो । राहतका लागि गाउँपालिकाले ३ सय क्वीन्टल चामल र २ हजार ५ सय केजी नून खरिद गरेको थियो । सरकारको मापदण्ड अनुसार नै प्रतिपरिवार १० देखि २० केजीसम्म चामल वितरण गरिएको जनाइएको छ । गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र राहत व्यवस्थापनका लागि ५७ लाख रुपैयाँको कोष खडा गरेको छ । राहत वितरणका लागि प्याब्सनले ९० क्वीन्टल चामल,२०० केजी दाल, २०० केजी नून, कर्णाली साकोसले ९ सय केजी चामल उपलब्ध गराएका थिए । त्यस्तै देवेन्द्र चौलागाईँले पनि खाद्यान्न सहयोग गरेको गाउँपालिका कार्यालयका राजन कार्कीले बताएका छन् ।

उनले पहिलो चरणको सकिएपछि अब दोस्रो चरणको राहत वितरण गर्ने तयारी गरिएको बताउँदै त्यसका लागि पुनः वडा—वडाबाट विवरण अपडेट गर्ने कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्