बिर्तामोड , चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिम कम नभएकोले तत्काल लकडाउन नहट्ने स्पष्ट पारेका छन् ।

शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेकोले लकडाउन खुला नहुने स्पष्ट पारेका हुन् ।संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले सीमामा अझ कडाइ गर्न र नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह गरे ।विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट गरिएको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोरोना विरुद्ध विरुद्ध लड्न सरकार भन्दा भिन्नै संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेकोले अर्को कुनै संयन्त्र आवश्यक नहुने उनको भनाइ थियो ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएका थिए । भिडियो कन्फरेन्समा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए। प्रधानमन्त्रीले यसबीचका प्रयास सकारात्मक रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएका थिए । कोरोना विरुद्ध लड्न सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पार्दै उनले अनावश्यक भ्रम र दुष्प्रचारबाट सचेत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्