हेटौंडा, चैत ३० । बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा सातौ दिन शनिवार नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । योसंगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ ।
बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा त्यहाँको रिपोर्ट पोजेटिभ आएको हो ।
हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निक्र्यौलका लागि नमुनालाई काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षणपछि पनि उनीहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।
यद्यपि आधिकारीक पुष्टि भने सरकारले गरेको छैन । आधिकारिक घोषणा आज आइतबार गरिने सामाजिक विकास मन्त्रालयका उच्च स्रोतले जानकारी दिएको छ । हेटौडाको परीक्षण केन्द्रमा तीन पटक परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ देखिएपछि तीनै जनाको पुनः परीक्षणको लागि काठमाडौ पठाईएको कीटजन्यरोग अनुसन्धान केन्द्र वाग्मती प्रयोगशालाका निमित्त प्रमुख नारायण कार्कीले बताए ।
उनीहरुलाई शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर वसेको अवस्थामा नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललिकुमार बस्नेतले जानकारी दिए । —हेल्थपाटी अनलाइनबाट