राजेन्द्र गौतम (झापा) । मेचीनगर –१० धुलाबारीका रामचन्द्र फुयाँल यतिबेला घर वरपरको सरसफाइमा बेस्त छन् । परिवारसित बसेर मज्जाले छुट्टी मनाउन घर आएका उनी घर नजिकै बाटोको सरसफाइ गर्दै गरेको अवस्थामा भेटिए ।
कोरोना संक्रमणको सन्त्रासका कारण आफूले कुनै रमाइलो नगरेको र घर बाहिर नगएको उनले सुनाए । ‘अघिल्ला छुट्टीहरुमा र एक दुई दिन भए नि परिवारसित घुमेर रमाइलो गरिन्थो’ फुयाँल भने,– ‘यसपटक रमाइलो गर्नेभन्दा पनि घर वरपर र बाटोको सरसफाइमा दिन बित्दै छन् ।’ ताप्लेजुङको मैवाखोला गाउँपालिका –५ घोरेटार स्थित पार्टीडाँडा माविका शिक्षक समेत रहेका उनी लकडाउनको पुर्वसन्ध्यामा चैत ८ गते शनिबार घर आएका थिए ।
उनी घर आएको दुई दिन पछि सरकारले लक डाउन घोषणा गरेपछि उनी अहिले घरबाट बाहिर कतै निस्केका छैनन् । ‘यो विश्वव्यापी संकटको अवस्था हो, सबैले घर भित्रै बसेर विश्वभरका मानवलाई सुरक्षित हुने योगदान गर्नु पर्छ’ फुयाँलले भने, ‘अहिले बाँचियो भने आगामी वर्षहरुमा रमाइलो गरौँला, आपसी रमाइलोका साथ छुट्टी पनि मनाउला ।’ उनी रमाइलो गरेर छुट्टी मनाउन नपाएकोमा भन्दा पनि बाटोसम्मको सरसफाइ गर्न भ्याएकोमा खुशी छन् । ‘यो बाटो कहिल्यै यसरी सफा गर्ने समय मिलेको थिएन’ फुयाँलले भने, ‘यति लामो समय परिवारसँग बसेर आफ्नो घर वारपर सरसफाइ गर्ने यसपटक अवसर नै जु¥यो ।
रामचन्द्र मात्रै होइन, छिमेकी दिपेन्द्र कन्दङ्वा पनि बाटो सफाइमा खटेका छन् । कन्द्ङ्वाले भने, ‘यसपटक यो समय विगत वर्षहरु भन्दा भिन्न लागिरहेछ, राम्रो काममा नै समय बितिरहेको छ ।’ पूर्व विद्यालय निरीक्षक समेत रहेका कन्द्ङ्वाले भने, ‘बिहानैदेखि काममा जाँदा घर वरपरको सरसफाइ गर्नसम्म भ्याइदैन थियोे, यसपटक बाटोमम्मै सफा गर्ने समय मिल्यो । कन्दङ्वाले बाटो सफा गर्दा घर वरपरको वातावरण सफा मात्रै होइन आफूलाई दोहोरो फाइदा भएको बताए । उनले बाटो सफा गर्दा निस्केको झारपातबाट कम्पोस्ट मल बनाउने कच्चा पदार्थ जम्मा गरेको सुनाए । भने, ‘लक डाउनको समय दिक्क लाग्दो भएको छैन, सदुपयोग नै गरेका छौँ ।’ उनले कोरोना संक्रमणको त्रासका कारण घर बाहिर परिवारका कोही पनि नगएको बताए । भने, ‘असहज परिस्थितिका कारण यसपटक परिवारसित कतै जान सकिएन आगामी वर्ष जाउला ।’
रामचन्द्र र दिपेन्द्रले बन्दाबन्दीको यो समयमा जे गरिरहेका छन्, त्यो अरुका लागि पनि अनुकरणीय छ । यसले एकान्तबासको समयको सही सदुपयोग मात्रै हुँदैन, स्वास्थ्य र वातावरणीय दृस्टिले पनि अरुका लागि प्रेरणा हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्