बिर्तामोड, चैत ३० । देशकै दोस्रो ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले बिर्तामोड नगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत व्यवस्थापन कोषका लागि १ लाख ७१ हजार रुपैयाँ सहयोग गरेको छ ।

१ नं. प्रदेशभरिका सबै पालिकाहरुलाई सहयोग गर्ने क्रममा सहाराले बिर्तामोड नगरपालिकालाई सो रकम प्रदान गरेको हो । सहाराले प्रदेशभरिका प्रत्येक नगरपालिकालाई १ लाख ११ हजार र गाउँपालिकालाई ६१ हजार रुपैयाका दरले सहयोग गर्दै आएको छ । बिर्तामोडमै मुख्य कार्यालय रहेको सहाराले अरुभन्दा बढी बिर्तामोड नगरपालिकालाई सहयोग गरेको संस्थाका सहसचिव ज्ञानुनाथ मैनालीले बताए ।आज बिर्तामोड नगरपालिकाको कार्यालयमा संस्थाका सहसचिव मैनाली, सदस्यहरु शंकर रिजाल,बिर्तामोड सेवा केन्द्रका राम रोक्का, कर्मचारी घनश्याम राय, गणेश उप्रेतीलगायतले सो रकमको चेक नगर प्रमुख धु्रवकुमार शिवाकोटीलाई हस्तान्तरण गरे । चेक ग्रहण गर्दै नगर प्रमुख शिवाकोटीले सहकारीमध्ये सहाराले सबैभन्दा बढी रकम दिएको भन्दै मानवीय सेवाका लागि गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद दिए ।

आजै बिर्तामोडको धनलाभ बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा ११ हजाररुपैयाँ सहयोग गरेको छ । संस्थाकी ब्यबस्थापक पबित्रा मगरले सो रकमको चेक नगर प्रमुख शिवाकोटीलाई हस्तान्तरण गरिन् ।त्यसैगरी आजै बिर्तामोड ५ को बुद्धनगर बचत तथा ऋण सहकारी संस्थाले पनि १६ हजार रुपैयाँ सहयोग गरेको छ । अध्यक्ष युवराज प्रसाईले संस्थाका तर्फबाट चेक हस्तान्तरण गरे ।

सहकारीद्वारा २० लाख बढीको सहयोग
बिर्तामोड नगरपालिकाको राहत कोषमा सबैभन्दा बढी सहकारी संस्थाहरुले सहयोग गरेका छन् । अहिलेसम्म २० लाख ४७ हजार ६१७ रुपैयाँ बराबरको सहयोग सहकारी संस्थाहरुले गरेको नगरपालिकाका सहकारी शाखा प्रमुख डिल्ली दाहालले बताए । सहकारीहरुले १७ लाख ४७ हजार ६१७ रुपैयाँ नगद, २ लाख रुपैयाँको खाद्यान्न र १ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । उनले बिर्तामोडमा सहकारीहरुले गरेको सहयोग देशभरिमै सबैभन्दा धेरै भएको बताए । राहत कोषमा सहयोग गर्नेेमा बिर्तामोडका ४७ वटा सहकारी रहेका छन् । नगरभित्र १ सय ३४ वटा दर्ता रहेकोमा २० वटा निश्क्रिय छन् । बिर्तामोडभित्रका सहकारीहरुले खुलेर सहयोग गरेको दाहालको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्