दमक, चैत ३०। महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन गरिएको लकडाउनका कारण विद्यालय वन्द भएपछि दमक ८ मा रहेको झापा मोडल अंग्रेजी स्कुल ( जेम्स ) ले अनलाईन कक्षा शुरु गर्ने तयारी गरेको छ ।

आधुनिक प्रविधिमार्फत स्कुलले विद्यार्थीहरुको नियमित पठनपाठन गर्ने वातावरण वनाउनका लागि अनलाइन कक्षा शुरु गर्न लागिएको प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालयले इन्टरनेटको माध्यमबाट झुम मिटिङ एप्स,गुगल क्लास,मेसेन्जर,मिडास इ—लर्निङ क्लास तथा यूट्युवको सहायताले पठनपाठन शुरु गर्न लागिएको हो । विद्यालयमा अध्ययनरत एलकेजीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई त्यस्तो प्रविधिमार्फत पठनपाठन गराउने प्रिन्सिपल श्रेष्ठले बताए । अनलाइन कक्षा यही वैशाख ७ गतेदेखि शुरु गरिने स्कुलले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण देशभरिका शैक्षिक संस्थाहरु लामो समयदेखि ठप्प भएको र विद्यालय खुल्ने समेत टुंगो नभएपछि विद्यालयले प्रविधिमैत्री सिकाई गर्न चासो देखाएको स्कुलका संस्थापक निर्देशक जयवहादुर श्रेष्ठले बताए ।

अनलाइन कक्षा सञ्चालनका लागि विद्यालयले अभिभावकसंग इन्टरनेट पहुँच भए,नभएको अध्ययन गरेको र अधिकांशसंग सो प्रविधिको पहुँच भएकाले अभिभावकको समन्वयमा नियमित कक्षा गर्न लागिएको उनले बताए ।
स्कुलले विगत वर्षदेखि सहकार्य गर्दै आएको बेलायतको दुई उत्कृष्ट विद्यालय सेन्टमेरिज प्राइमरी स्कुल र एसुम्पसन ग्रामर स्कुलको प्राविधिक सहकार्यमा अनलाईन शिक्षा सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्