बिर्तामोड, चैत ३० । कोरोना भाइरस विरुद्धको अभियानमा राहतका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–२ चारपानेले छुट्याएको ५० लाख रुपैयाँ अन्तर्गतको रकम झापाका ६ वटा स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको भन्दै विपन्न परिवारलाई राहत उपलब्ध गराउने उद्येश्यले संस्थाले झापाका ५ वटा नगरपालिका र एउटा गाउँपालिकालाई आइतवार चेक प्रदान गरेको हो ।
लक्ष्मीपुर तथा सुरुङ्गा सेवा केन्द्रको संयुक्त आयोजनामा संस्थाको केन्द्रीय कार्यालयले छुट्याएको एकलाख ११ हजार रुपैयाँको चेक कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तान्तरण गरिएको हो । साकोसका सञ्चालक समिति सदस्य पदम भट्टराईले नगर प्रमुख तथा उपप्रमुख मञ्जु प्रसाईलाई चेक प्रदान गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा लक्ष्मीपुर सेवा केन्द्रका संयोजक केदार सम्शेर गिरी , लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारती, सुरुङ्गा सेवा केन्द्र संयोजक खड्ग प्रसाई, सुरुङ्गा सेवा केन्द्रकी प्रमुख गोमा बस्नेत, शिवगञ्ज सेवा केन्द्र प्रमुख टीका प्रधान, कनकाई नगर कार्यपालिका सदस्य सुनिता सिग्देल, संस्थाका शेयर सदस्य चित्रकुमारी तिवारी, मैया तिवारीलगायतको उपस्थिति थियो ।
साकोसले अर्जुनधारा, शिवसत्ताक्षी, मेचीनगर नगरपालिकालाई जनही १ लाख ११ हजार र बिर्तामोड नगरपालिकालाई १ लाख ७१ हजार, र बुद्धशान्ति गाउँपालिकालाई ६१ हजार रुपैयाँ राहत वितरणका लागि हस्तान्तरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले बताए ।
उनले बिराटनगर उपमहानगर पालिकालाई एकलाख ११ हजार र प्रदेश नं. १ का ६ वटै जिल्लाका सम्पूर्ण स्थानीय तह अन्तर्गतका नगरपालिकालाई ५० हजार र गाउँपालिकालाई २५ हजारका दरले राहत रकम वितरण गरिने बताए ।

संस्थाले सहारा कर्मचारी मानवीय सहायता कोषमा रहेको २० लाख रुपैयाँ दिने घोषणा गरेपनि संस्था २५ औ बर्षमा प्रवेश गरेको अवसरमा थप ३० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । सस्थाले सहारा कर्मचारी मानवीय सहायता कोषबाट कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको थियो भने मुख्यमन्त्री शेरधन राईलाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई १ महिनाका लागि खाद्यान्न उपलब्ध गराउन एकलाख ५१ हजार रुपैयाँको चेक प्रदान गरेको थियो ।
लघुवित्त समुहमा रहेका गरिब तथा विपन्न परिवारलाई लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको भन्दै संस्थाले २ महिनाका लागि बिना व्याज ५ हजार रुपैयाँसम्म सापटी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्