झापा, बैशाख १ । आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् । ‘सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’ उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चन्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउनेछन् । विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुने अवस्था छैन ।

आदिवासी समुदायको सिरुवा पर्व शुरु
यसैबीच पूर्वी नेपालका राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, चौधरी , माझीलगायतका आदिवासी समुदायका जातिले मनाउने महान पर्व सिरुवा आजदेखि शुरु भएको छ । आज सोमबार नयाँ बर्ष २०७७ प्रारम्भ भएसंगै सिरुवा पर्व सुरु भएको छ । बैशाख १ देखि ३ गतेसम्म तीन दिन उनीहरुले यो पर्व मनाउने गर्दछन् । पहिलो दिन पानीको होली पानी सिरुवा, दोस्रो दिन हिलोको होली काद सिरुवा र अन्तिम दिन रंगको होली रंग सिरुवा मनाउने चलन छ । यस अवसरमा झापा, मोरङलगायत जिल्लाका विभिन्न स्थानमा सिरुवा साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना हुने गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष आदिवासी समुदायले हर्षोल्लासपूर्वक सिरुवा नमनाउने भएका छन् । कोरोना भाइरसको जोखिमका कारण यस बर्ष सिरुवा पर्व विगत बर्षहरुमा जस्तोगरी नमनाउन अपिल गरिएको राजवंशी विकास प्रतिष्ठान झापाका अध्यक्ष सुरेन राजवंशीले बताए । त्यस्तै यस बर्ष कोरोना संक्रमणका कारण सामूहिक रुपमा सिरुवा खेल्ने तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना नगर्न आग्रह गरिएको उपाध्यक्ष इन्द्रसिंह राजवंशीले बताए । कोरोनाकै कारण झापा र मोरङका विभिन्न स्थानमा लाग्दै आएका ऐतिहासिक सिरुवा मेलाहरु यस बर्ष स्थगित गरिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्