राजेन्द्र गौतम । झापा ।
कोरोना संक्रमणबाट जोगिन साबुनपानीले नियमित हात धुनु , सामाजिक दुरी कायम गर्नु, हातले आँखा, मुख, नाक नछुनु , हाछ्युँ गर्दा कुहिनाले छोप्नु ,टिस्यु पेपर प्रयोग र सुरक्षित बिसर्जन गर्नु, शंकास्पद संक्रमितले मास्क प्रयोग गर्नु लगायत बुँदा अन्तर्राष्ट्रिय रुपमा सुझाइको उपाय हो । नेपाल सरकारले पनि त्यसलाई नै अनुशरण गरेको छ । सबै सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि तिनै कुरा प्रकाशन, प्रशारण भइरहेको छ र हरेकले त्यसलाई पछ्याइ रहेको अवस्था छ ।
विडम्बना हामी कोरोना संक्रमण रोक्ने यी बिश्वब्यापी सुझावको अल्प अनुशरणमा नै अल्झेका छौँ र नयाँ उपायको अनौठो अभ्यास गरिरहेका छौँ । सडकमा ढाट तेर्साएर कोरोनाको संक्रमण रोक्न सोच्नै नसकिने कुरा भए पनि यतिबेला मुख्य तथा सहायक राजमार्ग, शहर बजारदेखि देहातका चोक गल्तीमा छ्याप्छ्याप्ती लगाइएका ढाटले हामी मुख्य विषयबाट विमुख भएको स्पष्ट झल्कन्छ । यो क्रम बौद्धिक र विकासका दृष्टिले अग्रणि मानिएको जिल्ला झापामा बढ्दो छ । जसका कारण अत्यावश्यक सवारी सञ्चालन र नियमित आवागमनमा अप्ठ्यारो परेको छ ।
झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले मुख्य सडक र राजमार्गमा त्यस्तो अवरोध नभएको बताए । “राजमार्गमा यस्तो अवरोध छ भन्नू तथ्यलाई बङ्ग्याउनु र छिद्र खोतल्नु मात्रै हो” उनले भने, “हामीले देखे जति ठाउँको हटाएका छौँ , कहिँ अवरोध छ भने हटाउन तत्काल प्रहरी परिचालित हुन्छ ।” उनले यस्तो कार्यले कोरोना रोकिने नभइ अत्यावश्यक सेवामा व्यवधान सिर्जना हुने बताए । राजमार्ग खुल्ला हुँदा अनियन्त्रित भएर चल्ने सवारी साधनलाई प्रहरीले नियन्त्रण गर्ने प्रयास गरेको जानकारी दिए । तर, राजमार्गमा त्यसखालको अवरोध नभएको बताए ।
नेकपा झापाका जिल्ला कमिटी सदस्य भवानीप्रसाद दङ्गाल अहिले पनि बाटोमा अवरोध भएको दाबी गर्छन् । “सडकमा ढाट लगाएर कोरोना रोकिँदैन, यो निम्नस्तरको सोचको उपज हो” उनले भने, “सडकमा ढाट लगाउनु दुनियाँलाई हसाउनु मात्रै हो ।”
सडकमा ढाट लगाएको विषयलाई झापा चकचकीका कृष्ण राज कटुवालले चेतना स्तरको मापन भनी टिप्पणी गरे । श्री ५ महेन्द्र चुन्नी मावि सप्तरीका शिक्षक समेत रहेका उनले भने, “यो संकृण सोच हो ,सडक बन्द गरेर कोरोना रोकिन्छ भन्नू जग हसाउनु मात्र हो । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुले आफू सुरक्षित हुने बाहानामा राज्यले गरेको लक डाउनको उपहास हुने गरि सडकमा अवरोध गर्नु बेइमानी भएको बताए । उनले नबुझेर त्यो गरिएको हो भने पनि सामाजिक रुपमा बिल्कुलै गलत भएको बताए । भने, “कहिँ कतै त्यस्तो रहेछ भने हामी हटाउन विलम्ब गर्दैनौँ ।”
सडकमा ढाट लगाइएको र लगाउने कुराको विरोध भए पनि जिल्लाका सहरी क्षेत्रदेखि सयौं ठाउँमा अहिले पनि ढाट तेर्सायाइएको छ । कसैले त्यसको विरोध र्गयो भने ढाट लगाउनेले झपार्ने गरेको बिर्तामोडका एक स्थानीय श्याम शर्माले बताए । चन्द्रगडि लेखनाथ चोककी रेखा अधिकारीले उक्त कार्य गलत भएको बताइन् । मानव अधिकारका लागि महिला एकल महिलाकी केन्द्रीय सचिव समेत रहेकी अधिकारीले भनिन्, “यो मानिसको स्वतन्त्रता पूर्वक आवागमन गर्न पाउने अधिकारको हनन पनि हो ।” उनले यस्तो संकटको बेला सडक अवरुद्ध गर्न नहुने बताइन् ।
नचिनेका व्यक्ति आउनबाट रोक्न यसो गरिएको हो भने पनि यो प्रक्रिया नै गलत छ । यसले आवागमनमा समस्या मात्रै गर्दैन । सुरक्षा निकाय, एम्बुलेन्स, स्वास्थ्य क्षेत्र, सञ्चार , ढुवानी लगायत अत्यावश्यक सेवा अबरुद्ध हुन्छ । कोरोसा संक्रमण फैलिन नदिन लक डाउन गरेको बेला सडकमा ढाट तेर्सयाउनु आफैँ लक हुनु मात्र भएको उनीहरूको मत छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्