झापा, वैशाख १ । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा रौतहटका १९ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४ पुगेको हो ।
यसअघि, सोमबार नै कैलालीकी एक ५२ वर्षीया महिलामा पनि कोरोना संक्रमण भएको पाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार दुईजनामा संक्रमण देखिएको पुष्टि गरे । रौतहटका संक्रमित युवक यही चैत १६ गते भारतको नयाँदिल्लीबाट आएको र एक रात परिवारसँगै बसेको स्थानीयले बताएका छन् ।
हाल सेती प्रादेशिक अस्पतालमा पाँचजना, गण्डकी अस्पतालमा दुईजना, वीरगन्जको नारायणी अस्पतालमा तीनजना र काठमाडौंको टेकु अस्पतालमा दुईजना कोरोना संक्रमितहरुको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीरगन्जमा भेटिएका संक्रमित तीन भारतीयको सम्पर्कमा आएका २८ जना र छपकैया टोलका ५६ जनाको ‘आरडीटी’ परीक्षण भइरहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
हालसम्म ५२ जिल्लामा र्यापिड’ परीक्षण किटबाट परीक्षण भइरहेको भन्दै उनले ‘पीसीआर’ र आरडीटीबाट १० हजार ९८२ जनाको परीक्षण भइसकेको जानकारी दिए । देशभर १०३ जना ‘आइसोलेसन’मा रहेका छन् भने सरकारले तोकेको स्थानमा सात हजार १६६ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पाँच हजार ६९१ जनाको परीक्षण भएको र २४ घन्टाभित्र ४११ जनाको परीक्षण गरिएको छ । यस्तै, प्रदेश तहमा एक हजार २५९ जनाको परीक्षण गरिएको छ ।