भद्रपुर, बैशाख २ । झापाको सदरमुकाम भद्रपुरस्थित कलबलगुरी क्वारेन्टाइनमा रहेका १७ जनालाई आज घर पठाइएको छ । ८ जनालाई आजै साँझसम्ममा पठाउने तयारी गरिएको छ ।

भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १४ दिन बिताएपछि गरिएको र्यापिड डायग्नोष्टिक टेस्ट(आरडीटी) किट परीक्षणमा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई घर पठाइएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा बसको व्यवस्था गरी उनीहरुलाई घरमै अरु सात दिन क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
सरकारे गरेको लकडाउनकै बेला भारतका विभिन्न ठाउँबाट हिँडेर आई पूर्वी काँकरभिट्टा र पूर्वी दक्षिणी भद्रपुर नाकाबाट नेपाल छिरेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
कलबलगुरी क्वारेन्टाइनमा सिराहाका ११, उदयपुरका ६, दैलेखका २ जना, सप्तरीका एकजना र स्थानीय एकजना रहेको क्वारेन्टाइन इञ्चार्ज क्याप्टेन विजय निरौलाले जानकारी दिए ।

सिराहा, उदयपुर र सप्तरीका १७ जनालाई भद्रपुर नगरपालिकाले बस व्यवस्था गरी पठाएको र सुर्खेत र दैलेखका नागरिकलाई सुर्खेतको चौकुने गाउँपालिकाले पठाएको गाडीमा पठाउने व्यवस्था मिलाइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
क्वारेन्टाइनमा रहुञ्जेल कुनै पनि किसिमको असुविधा भोग्नु नपरेको, आफू घरमै भएकोजस्तो अनुभूति भएको उदयपुरको गढी गाउँपालिका २ निवासी ४५ वर्षीय मोहनबहादुर मगरले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्