राजेन्द्र गौतम,

झापा, बैशाख २ । कोरोनाको उच्च जोखिम बढेसँगै झापाका ग्रामीण क्षेत्रमा अपरिचित व्यक्तिको निगरानी कसिलो बनाइएको छ ।

गाउँका युवाले प्रहरी प्रशासन र स्थानीय सरकारसँगको समन्वयमा निगरानीलाई कसिलो बनाउँदै लगेको झापाको दक्षिण पश्चिमी सीमावर्ती क्षेत्र चाँदनी चोकका युवा प्रमोद अधिकारीले बताए । अपरिचित व्यक्तिलाई युवाले गाउँ प्रवेशमा रोक लगाएका छन् । काम विशेषले आउने व्यक्तिलाई आउनुको कारण, जाने स्थान , जाने व्यक्तिसितको नाता सम्बन्ध सोध्ने र अभिलेख राखेर मात्रै पठाउने गरिएको गौरादह —९ बैगुनधुराका युवा भरत गौतमले जानकारी दिए । सीमावर्ती क्षेत्रमा रातको समयमा भारतबाट सामान आयात गर्ने गरिएको र लुकिछिपी मानिस आवतजावत गर्ने गरेको गोप्य सूचनाका आधारमा निगरानी गर्न सीमा प्रहरी चौकी कुञ्जीबारीलाई आग्रह हरिएको महाभारा भन्सारटोलका बलराम थपलियाले बताए । उनले गाउँगाउँमा सागसब्वी लिएर आउने केरिएर, ठेला र साइकललाई समेत प्रतिबन्ध लगाएको जानकारी दिए । सीमा पारीबाट भारतीय नागरिक नेपाल पस्न सक्ने सम्भावना बढेकाले युवाले कडाइ र निगरानी गरिरहेको थपलियाले बताए । सीमाक्षेत्रमा मानिसको आवागमन हुने र जोखिम बढ्ने भएपछि गौरीगञ्ज गाउँपालिका — १ को कुञ्जीबारीमा साप्ताहिक रुपमा लाग्दै आएको शनिबारे हाट लकडाउन सुरु भएदेखि नै बन्द गरिएको कुञ्जीबारी प्रहरी चौकीका असइ दिपक कडेलले बताए । उनले स्थानीय छोटी भन्सार क्षेत्रमा नियमित गस्ती भइरहेको जनाए । स्थानीय सरकार, टोल विकास समिति र प्रहरीको साझेदारीमा खुल्ला सीमा सुरक्षा समिति गठन गरेर जनशक्ति परिचालन गरिएको असइ कडेलकोे भनाइ छ ।
बोर्ड अप्रेसन पोस्ट ( बिओपी) कुञ्जीबारीका शसस्त्र प्रहरी निरीक्षक अगम राईले सीमावर्ती क्षेत्रमा आवतजावतमा रोक लगाइएको र स्थानीय सरकारसँगको समन्वयमा सुरक्षा अवस्था मजबुत पारिएको बताए । उनले अत्यावश्यक सेवाबाहेक कुनै पनि सवारी साधन चलाउन रोक लगाइएको जानकारी दिए । पोस्टले लकडाउनको समयमा नियम मिच्ने १४ जनालाई नियन्त्रणमा लिएर गौरीगञ्जमा निर्माण गरिएको क्वारेन्टाइनको जिम्मा लगाइएको बताए । उनीहरू निश्चित समयसम्म क्वारेन्टाइनमा बस्ने राईले जनाए ।

त्यस्तै लकडाउन उल्लंघन गरी घर तथा कार्यक्षेत्र छाडेर हिड्ने दुईजनालाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका छन् । साविक झापा बाहुनडाँगी— ५ घर बताउने रुद्र फुयाँललाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । घर ठेगाना बैगुनधुरा आउनुको कारण समेत बताउन नचाएपछि बाध्य भएर नियन्त्रणमा लिनु परेको भरतले बताए । ग्वालमुनि बाट नियन्त्रणमा लिइएका उनलाई गौरादह नगरपालिका — ७ मा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको गौरादह —९ का वडासदस्य कृष्ण गौतमले बताए । परिवारको मोबाइल नम्बर पत्ता लगाएर फुयाँलको घर पहिचान गरिएको कृष्णले जानकारी दिए । त्यस्तै बेवारिसे अवस्थामा घुमिरहेका गोबिन्दकुमार लोथलाई गौरीगञ्ज गाउँपालिका —१ कादोगाउँबाट आइतबार मध्यरातमा नियन्त्रणमा लिइएको कुञ्जीबारी प्रहरीका असइ कडेलले बताए । सोलमारीको मेची इटाभट्टामा काम गर्ने उनी बिना काम रातको समयमा हिडेपछि पक्राउ गरिएको उनले बताए । उनलाई राति नै इटाभट्टाका व्यवस्थापक रोसनकुमार साहलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । उनीसँग भएको मोबाइल नम्बरमा फोन गरेर उनको पहिचान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्