झापा, बैशाख २ । सरकारले जारी लकडाउनको अवधि १२ दिन थपेर १५ गतेसम्म लम्ब्याएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो ।

उक्त अवधि सकिनु १ दिन अगावै सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो । जसको अवधि भोलि बुधबार सकिने थियो ।

तर सो अवधि समाप्त नहुँदै आजको मन्त्रिपरिषद बैठकले चौथोपटक १२ दिन थप गरेर अवधि लम्ब्याएको हो । अब जारी लकडाउन बैशाख १५ गतेसम्म कायम रहनेछ ।

जारी लकडाउन लम्ब्याउने कि नलम्ब्याउने भन्ने बारे बालुवाटारमा छलफल भएको थियो । मुलुकमा कोरोना संक्रमणका नयाँ केसहरू बढ्न थालेपछि सरकारले केही दिन कडाइ गर्दै लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा अझै २ हप्ताजति कष्टकर हुने बताएका थिए । यसको संकेत लकडाउन थपिने भन्ने नै थियो, जुन जतनालाई दुःख दिनका लागि नभएर संक्रमणबाट जोगाउनका लागि भन्ने प्रधानमन्त्रीले बताएका थिए ।

चैत २९ गते प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भिडियोमार्फत छलफल गरेका थिए । जसमा सबै प्रदेशका मुख्यमन्त्रीहरूले समेत लकडाउन लम्ब्याउन उचित हुने सुझाव दिएका थिए ।
यसैबीच, भारतमा पनि जारी लकडाउन थप १९ दिनका लागि लम्ब्याइएको छ । मंगलबार भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन थपिएको जानकारी गराए ।

भारतमा पनि यसअघि लागू गरिएको तीन हप्ते लकडाउन भोलि बुधबार नै सकिनेवाला थियो, तर अब वैशाख २१ गतेसम्म लकडाउन जारी रहनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्