(झापा)। देश लकडाउनमा रहेको बेला तपाईंले नयाँ वर्ष कसरी मनाउनु भयो ? श्रव्य दृश्य सामग्री सामाजिक सञ्जाल मार्फत पठाएर, लिखित वा रेकर्डिङ शुभकामना सन्देश प्रेषित गरेर, फोन गरेर वा भौतिक दुरी कायम गर्दै शुभकामना साटासाट गर्नु भयो । अर्थात् घरमा नै स्थापित मन्दिर वा देवदेवीको तस्वीर पुजेर । यति पनि नगर्नेले मान्यजनको हातबाट टीका ग्रहण गर्दै आशीर्वाद थापेर ।
तर, झापाका एकजना वडाध्यक्षले नयाँ वर्ष रचनात्मक रुपमा मनाएका छन् । उनी सोमबार ( नयाँ वर्ष २०७७ ) बिहानैदेखि व्यस्त भए । डाक्टर निराजन पराजुलीसहित चारजना स्वास्थ्यकर्मीसहितको टोली लिएर गाउँ पसे । वडाका ४ सय घरमध्ये सबै जेष्ठ नागरिकको घर पुगे । निम्न आय र दैनिक ज्यालादारी गर्ने परिवारका ८५ जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच गराए । उनले स्वास्थ्य जाँच मात्रै गराएनन् ज्वरो, रुघाखोक, टाउको दुखेको, पेट दुखेका तथा सामान्य स्वास्थ्य समस्या देखिएका नगरबासीलाई निःशुल्क औसधिसमेत वितरण गरेको जनाइएको छ ।
यसरी नयाँ वर्ष मनाउने वडाध्यक्ष हुन्– शिवासताक्षी नगरपालिका– ६ का मनोज खुलाल कार्की । थप दुईसय जनाको स्वास्थ्य परीक्षण गरिएको डाक्टर पराजुलीले बताए । प्रेसर, सुगर अन्य दीर्घ रोग भएका जेष्ठ नागरिकलाई कोरोना संक्रमणबाट जोगिने उपायसहित मास्क वितरण गरिएको टोलीमा सहभागी रेडक्रस उपशाखा शिवसताक्षीका सभापति नारायण दाहालले बताए । वडाध्य कार्कीको नयाँ वर्ष मनाउने शैली आफूहरुका लागि नौलो अनुभव भएको स्थानीय बद्री खनालको बुझाए छ । “यो सही समयमा गरिएको उपयुक्त निर्णय र काम हो “वडासदस्य समेत रहेका खनालले भने, “यसले स्वास्थ्य संस्थासम्म आउन नसक्ने जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिन सकियो, यो अन्यत्रका जनप्रतिनिधिलाई पनि सबक हो । “वडाध्यक्ष कार्कीले कोरोनाको त्रास झेलिरहेका र अप्ठ्यारोको सामना गरिरहेका नागरिकलाई सेवा र्पुयाउनु आफ्नो कर्तव्य भएको बताए ।
जिल्लाका कान्छा वडाध्यक्ष कार्कीले लकडाउनको बेला गरिरहेको कामको झापामा खुलेर प्रसंसा हुन थालेको छ । उनलेयसअघि आफ्नै पहलमा राहत वितरण गरेर चर्चा कमाएका छन् । आवश्यक सुरक्षा प्रबन्ध सहित वडासरकारले आफूहरुसँगको समन्वयमा काम गरिरहेको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्