दमक,३ वैशाख । कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी (लकडाउन )जारी राखेपछि दैनिक जनजीवन सहज बनाउन झापाको दमकमा अत्यावश्यकीय वस्तु किनमेलको समय तय गरिएको छ ।
नगरपालिकामा आज नगरप्रमुख, स्थानीय प्रहरी प्रशासन प्रमुख र बाणिज्य संघका प्रतिनिधि समेतको संयुक्त बैठकले कोरोना भाइरसको संभावित जोखिम नियन्त्रण गर्न गरिएको लडकाउनलाई थप प्रभावकारी बनाउदै अत्यावश्यकीय बस्तु किनमेलको समय बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्मको समय कायम गर्ने निर्णय भएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । तय गरिएको समय बाहेक अरु समयमा भने पसल खोल्न नपाइने बैठकले निर्णय गरेको छ । नगरपालिका भित्र रहेका अस्पताल, औषधी पसल सुरक्षा व्यवस्थापन गरी सधैँ खुल्ला राख्ने तथा सो बाहेक दैनिक उपभोग्यसहितका खाद्यान्न बस्तुको मात्र बिक्री वितरण सहज बनाउने निर्णय भएको उनले जानकारी दिए ।
सो समयभित्र पनि व्यापारी र ग्राहक दुबैले अनिवार्य सामाजिक दुरी कायम राख्नु पर्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । यसअघि बिहान, बेलुकी मात्रै बजार खुल्दा छोटो समयका कारण त्यही बेला मानिसहरुको समेत अत्याधिक चहलपहल हँुदै आएकाले त्यसले जोखिम निम्त्याउन सक्ने भएको भन्दै किनमेलको दैनिक ५ घण्टा मात्र कायम राख्ने निर्णय गर्न सुझाएको उनी बताउँछन् । विहान–बेलुका खाद्य सामग्री किन्ने निहुँमा भिड बढेकाले दिउँसोको समयमा पसल सञ्चालनमा ल्याइएको पण्डित बताउँछन् । दिउँसोको समयमा अत्यावश्यक काम बाहेक अन्य व्यक्ति बाहिर ननिस्कने हुँदा सो निर्णय गरिएको उनले बताए । बैठकले उपभोक्ताले पनि तोकिएको समयमा तोकिएको सुरक्षा ब्यवस्था मिलाई भिडभाड नगरि अत्यावश्यक बस्तुको खरिद गर्न र बाकी समयमा होम क्वारेन्टाइनमै बस्न आम नगरबासीसंग अपिल समेत गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्