बिर्तामोड , बैशाख ३ । झापाको हल्दीबारी गाउँपालिकाले लकडाउन प्रभावितहरुलाई राहत वितरण गर्न थालेको छ ।
गाउँपालिकाभरिका १ हजार ६६३ अति विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गर्न थालिएको हो । वडा नं १ मा २६५ , २ मा ९२९ , ३ मा १५९ , ४ मा १५७ र वडा नं ५ मा १६३ अति विपन्न परिवार रहेको वडा कार्यालयहरुले लगत संकलन गरी गाउँपालिकामा बुझाएका छन् । ती परिवारलाई खाद्यान्न वितरण गरिने गाउँपालिकाले जनाएको छ । सबैभन्दा बढी विपन्न रहेको वडा नं २ मा बुधबारदेखि राहत बाँड्न शुरु गरिएको वडा सदस्य खगेन राजवंशीले बताए । अरु वडाहरुले बिहीबारदेखि शुरु गरेको जनाएका छन् ।
विश्वब्यापी कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र राहत व्यवस्थापनका लागि खडा गरिएको गाउँपालिकाको कोषमा १४ लाख रुपैयाँ जम्मा भएको जनाइएको छ । कोषका लागि विपद व्यवस्थापन समितिको बजेटमा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुले एक महिनाको तलब भत्ता सहयोग गरेका छन् । त्यसमा विभिन्न संघसंस्था र ब्यक्तिकोे पनि नगद सहयोग रहेको छ । त्यस्तै गाउँपालिकालाई ४७ क्वीन्टल चामल र २ क्वीन्टल दाल जिन्सी सहयोग मिलेको वडा सदस्य राजवंशीले जानकारी दिए ।