भद्रपुर, ५ बैशाख । व्यावसायिक कृषिमा सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको छ ।

ग्रामीण क्षेत्रमा जल विद्युतीकरणको पहुँच कम भएर सिञ्चाईमा समस्या झेलिरहेका किसानका लागि सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको हो । यो प्रविधि आएयता दक्षिणी झापाका अधिकांस जमिनमा हरियाली छाएको छ । आकाशे वर्षामा भर परेर एक बाली मात्र लाग्ने यहाँका अधिकांस जमिनमा सौर्य सिञ्चाई प्रयोगमा आएयता वर्षैभरि खेती बाली लाग्न थालेको छ । कामको खोजीमा हिड्नेहरू अरूलाई काम दिने अवस्थामा रूपान्तरण भएका छन् । जमिन हुनेहरू आफ्नै जमिनमा र नहुनेहरू भाडाको जमिनमा व्यावसायिक खेती गरेर जीवनस्तर उकास्न थालेका छन् । जल विद्युत् खेतबारीको कुना कुनसम्म पुर्याउन असंभव देखिएपछि व्यनवसायिक कृषिमा सौर्य उर्जा सिञ्चाई प्रविधिको अवधारणा लिएर दक्षिणी झापामा धान सुपरजोन देखा पर्यो । यस प्रविधिको प्रवेशसितै कृषिमा भविष्य खोज्ने किसानहरूको संख्या पनि बढ्दै गएको छ । जसले दक्षिणी झापाको उर्वर माटोलाई आम्दानीको मुहान बनाएर हरियाली समेत छाइरहेको छ ।

कृषि क्षेत्रमा यान्त्रिकीकरण तथा व्यावसायिक वातावरणका लागि कार्य गर्दै आइरहेको धान सुपर जोन बनियानी झापाले ४ वर्ष अगाडि सिञ्चाईमा नयाँ प्रविधिको रूपमा भित्र्याएको सौर्य उर्जा प्रविधि झापाका अधिकांस ग्रामीण कृषि क्षेत्रमा विस्तार भइसकेको छ । सुपर जोनले सिञ्चाईमा लागत कम गराइ भूमिगत पानी तान्न आधुनिक सौर्य उर्जा प्रविधि मार्फत नयाँ विधिको सुरुवात गरेयता विद्युत् अभावमा सिञ्चाई नभएका जमिन वर्षैभरि खेती लगाउन सकिने गरी रूपान्तरण भएका छन् ।
ग्रामीण कृषि क्षेत्रमा विद्युतीकरण विस्तारमा लागत तथा समय बढी लाग्ने देखिएपछि सुपर जोनले स्थीर विद्युतीकरण र दीर्घकालिन लागत घटाउने प्रविधि सौर्य उर्जालाई कृषकका खेतवारीमा ४ वर्ष अगाडिबाट ल्याएको थियो । यो प्रविधिका लागि ५ लाख प्रतिबोरिङ खर्च हुने गरेको छ । सुपर जोनले कम्तीमा २ बाली व्यावसायिक खेती गर्ने कृषक समूह वा कृषि सहकारीलाई छनोट गरी लागतको ८५ प्रतिशतसम्म अनुदान दिने गरी यस प्रविधिलाई कृषकसमक्ष ल्याएको थियो ।
सुपर जोन सञ्चालक समितिमा आबद्ध कृषकका अनुसार कृषिलाई प्रतिष्पर्धी व्यवसायका रूपमा विस्तार गर्न यान्त्रिकीकरणमा कृषकको पहुँच कार्यक्रमका रूपमा सौर्य बोरिङ ल्याइएको हो । उनीहरूका अनुसार व्यावसायिक कृषि कार्यमा सहभागी कृषकहरूको समूहमार्फत सुपर जोनले ८५ प्रतिशत लागत व्यहोर्ने तथा १५ प्रतिशत सम्बन्धित किसानले लिने गरी छनोट प्रकृयामार्फत सौर्य पम्प वितरण गर्ने गरिन्छ ।
धान उत्पादनमा नेपाललाई आफैँ आत्मनिर्भर बनाउन सरकारले झापाको बनियानीमा धान सुपर जोन परियोजना गठन गरी काम गरिरहेको छ । परियोजनाले कृषिमा यान्त्रिकीकरणका लागि विभिन्न नयाँनयाँ प्रविधि ल्याएर व्यावसायिक कृषिको उत्थानका कामहरू गरिरहेको छ । परियोजना आएयता दक्षिणी झापामा धान, मकै, आलुलगायतका उत्पादन बढे पनि सरकारले बजारीकरणमा ध्यान नदिँदा लागत अनुपातमा मूल्य पाउन नसकेको गुनासो कृषकको छ । छिमेकी देश भारतको तुलनामा नेपालमा मल, बिऊ, र श्रमिकको क्षेत्रमा लागत बढी भएका कारण यहाँ उत्पादित अन्न तथा तरकारीजन्य उत्पादन भारतको तुलनामा महंगो पर्ने हुँदा सिमाना पारीबाट निर्वाध आउने खाद्यान्न रोक्न नसकेसम्म नेपाली किसानको उत्पादनले उचित मूल्य नपाउने कृषकहरू बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्