भद्रपुर, ५ बैशाख । भद्रपुर नगरको सबैभन्दा बढी विपन्न नागरिकको बसोवास रहेको भद्रपुर ५ नम्वर वडा कार्यालयलाई अष्ट्रेलियामा रहेका भद्रपुरका युवाहरूले ८० हजार नगद सहयोग गरेका छन् ।

अष्ट्रेलिया झापा सरोकार समाजका अध्यक्षसमेत रहेका भद्रपुरका युवा उमेश पोखरेल तथा समाजका सल्लाहकार भुपाल सिटौलाको पहलमा भद्रपुरका अष्ट्रेलियाबासीबाट संकलन भएको ८० हजार नगद वडाका विपन्न वर्गका नागरिकको गाँस जुटाउन सहयोग गरेका हुन् ।
भद्रपुरका अष्ट्रेलियाबासीबाट जुटेको रकम उमेश पोखरेलका पिता बासुदेव पोखरेलले नगर प्रमुख जीवनकुमार श्रेष्ठको रोहवरमा वडाध्यक्ष बन्धु कार्कीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमा नेपाली कांग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल, सामाजिक व्यक्तित्व जगदिश जोशी, राजन भट्टराई, बाबुराम उपाध्याय लगायतको उपस्थिति थियो ।

सो वडामा १२ सयबढी घरपरिवार अति विपन्न रहेका छन् । लकडाउन बढ्दै गएर ती परिवारले छाक टार्न नसक्ने अवस्था आएपछि वडा कार्यालयले दाता गुहार्न थालेको थियो । अधिकांस श्रमजीवि दैनिक ज्यालादारीमा जीविका चलाउने अति विपन्न नागरिक मेची नदी किनारामा सुकुम्बासीको रूपमा बस्दै आएका छन् । पछिल्लो पटक वडाध्यक्ष बन्धु कार्की, कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेल, सामाजिक अगुवा बाबुराम उपाध्यायलगायतले भद्रपुरका अष्ट्रेलियाबासीसित आर्थिक सहयोगको अपिल गरेपछि उमेश पोखरेल तथा भुपाल सिटौलाले नगद संकलन गरी पठाएका हुन् । ती युवाले नगर विपद कोषका लागि पनि आर्थिक सहयोग पठाउने बचन दिएको अभियन्ता बाबुराम उपाध्यायले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्