मनिषा चम्लागाईँ \ झापा

लामो समयदेखि जारी लकडाउनका कारण पर्यटक आगमन बन्द भएसँगै इलाम, तेह्रथुम, धनकुटाका दुग्ध डेरीले चिज उत्पादन गर्न छाडेका छन् । उत्पादित चिज बिक्री नहुँदा पूर्वका दुग्ध डेरीले चिज उत्पादन गर्न छाडेका हुन् । इलामको सुर्योदय नगरपालिका –३ पशुपतिनगरको लक्कि चिज डेरीले चिज उत्पादन गर्न छाडेको हो । डेरीले लकडाउन अघि नै उत्पादन गरेको सयौँ किलो चिजसमेत बिक्री हुन सकेको छैन ।
उत्पादन बन्द हुँदा कृषकले उत्पादन गरेको दुध डेरीले खरिद गर्न नसकेको लक्कि चिज डेरी पशुपतिनगरका सञ्चालक तुलु तामाङ बताउँछन् । उद्योगमा अहिले आठ सय किलो चिज बिक्री हुन नसकेर मौज्दात रहेको छ । “चिजको बिक्री ठप्प भएसँगै उत्पादन गर्न छाडेका छौँ” तामाङले भने, “कृषकले उत्पादन गरेको दुध खपत पनि हुन सकेको छैन, दुध खरिद गर्ने अवस्थासमेत छैन ।”
त्यहाँ उत्पादित चिज पोखरा, काठमाडौँलगायतका पर्यटकीयस्थल तथा स्टार होटलमा खपत हुने गरेको छ । डेरीले अन्य वर्ष यो सिजनमा मासिक ५ हजार किलो चिज उत्पादन गर्ने गरेको थियो । डेरी ११ वर्ष अघिदेखि सञ्चालनमा आएको होे । पहिलो पटक यसरी चिज उत्पादन बन्द गर्ने अवस्था आएको तामाङ सुनाउँछन् । इलामको सुर्योदय नगरपालिकाका डेरीले भने लकडाउन नखुलेसम्म चिज, घिउ र छुर्पी उत्पादन नगर्ने निर्णय गरेका छन् ।
पाँचथरको पौवाभञ्जाङ कृषि डेरीले भने न्यून मात्रमा चिज उत्पादन गर्दै आएको छ । आफूले उत्पादन गरेको चिज नेपाली बजारमासमेत खपत हुने हुदाँ उत्पादन बन्दै गर्नु पर्ने अवस्था भने नरहेको पौवाभञ्जाङ कृषि डेरीका सञ्चालक तिर्थ मिश्र बताउँछन् । पहिलेको तुलनामा उत्पादन भने घटेको उनको भनाई छ । “अहिले हामी प्रतिदिन ६० किलो चिज उत्पादन गछौँ” मिश्रले भने, “लकडाउन अझै बढ्ने हो भने चाहिँ उत्पादन बन्द गर्नु पर्ने हुन्छ ।” स्वादिलो, शक्तिवद्र्धक, प्रोटिनयुक्त एवम् स्वास्थ्यका लागि हितकार मानिने चिज पर्यटकले रुचाउने हुँदा पर्यटकीय क्षेत्रमा खपत हुने गर्छ । होटल व्यवसाय बन्द भएसँगै चिज उत्पादन नहुदाँ त्यसको प्रत्यक्ष मार पशुपालक कृषकलाई परेको उनीहरुको दुखेसो छ । पछिल्लो समय चिज खपत भने बढ्दै गएको डेरी सञ्चालकहरु बताउँछन् ।
बन्द हुने अवस्थामा दुग्ध विकास संस्थान
लामो समयदेखि जारी लकडाउनको कारण चिजसँगै घिउ र छुर्पीकोसमेत बजार अभाव रहेकाले दुग्ध विकास संस्थान (डीडीसी) विराटनगरले दुधको पाउडर उत्पादन बढाएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश –१का निर्देशक डा.लेखराज दाहाल दाबी गर्छन् । “दुग्ध व्यवसायमा असर त परेको छ” दाहालले भने, “नेपालमा उत्पादित छुर्पीको बजार अमेरीका रहेकाले निर्यात ठप्प छ, घिउले बजार पाएको छैन, चिज बिक्री हुन छाडेको छ ।” त्यसैले प्रदेश सरकार दुग्ध विकास संस्थानलाई पाउडर उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्न सुझाउँदै आएको दाहाल बताउँछन् ।
प्रदेशले पाउडर उत्पादन बढाएको दाबी गरे पनि संस्थानले विगत ४ दिनदेखि पाउडर उत्पादन गर्न छाडिसकेको छ । चार दिन यता दुधको खरिदसमेत गर्न छाडेको दुग्ध विकास संस्थान विराटनगरका प्रबन्धक गणेशकुमार यादवले बताए । “केही दिन अघिसम्म त पाउडर उत्पादन बढेको थियो” यादवले भने, “संस्थानले लकडाउन अघि ३० हजार लिटर दुधको पाउडर बनाउँदै आएको थियो, लकडाउन शुरु भएसँगै केही दिन ४० हजार लिटर दुधको पाउडर बनायो अहिले कच्चा पदार्थ अभावमा पाउडर उत्पादन ठप्प छ ।” एकसातालाई आवश्यक कच्चापदार्थ मात्र संस्थानसँग रहेको यादव बताउँछन् । लकडाउनको अवधिमा दुग्ध पदार्थ आपूर्ति भने बढेको उनको भनाई छ ।
लकडाउन लम्बिदै जाँदा उत्पादन र आपूर्ति घट्ने हुदाँँ सरकारले वैकल्पिक उपया अपनाउन नसके पशुपालक कृषक विस्थापित हुने कृषि विज्ञ विष्णु काफ्ले बताउँछन् । जसले गर्दा यस क्षेत्रमा आबद्धको लगानी डुब्ने, रोजगारी गुम्ने हुँदा सरकार गम्भिर बन्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्