झिलझिले, बैशाख ६ । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले आज सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री र इन्धन खर्च उपलब्ध गराएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेलाई एक सय थान डिस्पोजल मास्क, तीन सय थान डिस्पोजल ग्लोब्स, आठ थान ठूलो सेनिटाइजर, ३० थान डिटोल साबुन हस्तान्तरण गरेको नेपाली कांग्रेसका स्थानीय युवा नेता अशोक बस्नेतले बताए । बस्नेतका अनुसार ५० लिटर इन्धन बराबरको रकम सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ ।
कोरोना संक्रमणको यो बेला सुरक्षाका लागि अहोरात्र खटिने सुरक्षाकर्मीलाई सरकारले पर्याप्त सुरक्षा सामग्री उपलब्ध गराउन नसकेको वास्तविकतालाई मध्यनजर गरेर सताक्षी कांग्रेसले सुरक्षाकर्मीलाई सहयोग गरेको नेपाली कांग्रेस शिवसताक्षीका सहसभापति बिनोद ढकालले बताए । गस्तीमा निरन्तर खटिने प्रहरीलाई इन्धनको कमी हुन नदिन ५० लिटर इन्धन बराबरको रकम उपलब्ध गराइएको ढकालले जानकारी दिए ।

उक्त सामग्री नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुगानाले इप्रका झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरलाई कार्यालय परिसरमा नै पुगेर हस्तान्तरण गरेका हुन् । यसअघि सताक्षी कांग्रेसले नगरपालिकाको विपद व्यवस्थापन कोषमा एक लाख ६५ हजार बढी नगद हस्तान्तरण गरिसकेको शिवसताक्षी — ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्