झापा, ६ बैशाख । फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ भएकी छिन् ।

उनलाई आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ । स्वस्थ भएर अस्पतालबाट घर फर्कनुअघि कुराकानी गर्दै ती युवतीले संक्रमण भएपछि नहड्बडाउन र नआत्तिन आग्रह गरेकी छिन् । आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसमाथि विजय पाउन सम्भव हुने बताउँदै उनले आफ्नो उपचारमा सहयोग गर्नुहुने सबै चिकित्सक र स्वास्थ्यकर्मी एवं अस्पताल प्रशासनप्रति आभार व्यक्त गरेकी छिन् ।
गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया ती युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि नै आफूलाई निकै सचेत र सजग राखेकी यिनले घरमा पनि पूर्णतः क्वारेन्टाइनको अनुशासन निर्वाह गरेकी थिइन् । पछि टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण देखिएलगत्तै अस्पतालमा नै बसेर उपचार गराउँदै आएकी थिइन् ।

त्यस्तै बागलुङ जिल्लाको दोस्रो तथा नेपालको छैठौँ कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलाले कोरोनालाई जितेकी छिन् । उनलाई पोखरामा पछिल्लो दुई पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको पुष्टि भएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा.शैलेन्द्र पोखरेलले जानकारी दिए । ती महिलाको पहिलो र दोस्रो स्वाब पोजिटिभ आए पनि तेस्रो र चौथो स्वाब भने नेगेटिभ आएको छ । चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी महिलालाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमण भएको पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पताल बागलुङको आइशोलेशन वार्डमा उपचाररत महिलालाई अब अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । दम र प्रेसरको समस्या भए पनि ६५ वर्षीया महिलाले उच्च मनोबलका कारण कोरोनालाई सजिलै जितेर घर फर्कन लागेको डा.पोखरेलले बताए । अस्पतालबाट डिस्चार्ज गरिए पनि ती महिलालाई केही समय घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिने अस्पतालले जनाएको छ । नेपालको पाचौँ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ वर्षीया युवतीको भने चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्