बिर्तामोड , बैशाख ७ । झापा प्रहरीले जिल्लाका ७० मस्जिदमा सुरक्षा निगरानीमा बढाएको छ ।

भुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदाय १३ जनामा कोरोना संक्रमण ( कोभिड —१९ ) पुष्टि भएपछि झापाका सबै मस्जिदमा निगरानी बढाएको जिल्ला प्रहरीले जनाएको छ । १३ जना संक्रमित फेला परेको मस्जिद त्रियुगा नगरपालिका — ३ मा रहेको छ ।
झापाको बिर्तामोड र दमक नगरपालिकामा दुई ठूला मस्जिद छन् । ती मस्जिदमा मुस्लिम समुदायका २० धर्मगुरु रहेका छन् । उनीहरुमध्ये १८ भारतीय नागरिक भएको झापा प्रहरीले जनाएको छ । बिर्तामोडको जामे मस्जिद मुनोरवामा ८ भारतीय र एक नेपाली धर्मगुरु रहेका छन् भने दमकको सुन्नी जामे मस्जिदमा १० भारतीय र एकजना नेपाली मुस्लिम धर्मगुरु रहेका छन् । ठूला मस्जिदमा भारतीय धर्मगुरु बसेको भेटिएपछि प्रहरीले निगरानी बढाएको हो । ती मस्जिदमा बस्ने सबै धर्मगुरुको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ । उनीहरुको आरडिटी परीक्षण गरिएको जिल्ला विपद व्यवस्थापन समिति सहायता कक्षका सचिव जीवन चौलागाईंले बताए । बिर्तामोडको मस्जिदमा रहेका धर्मगुरुको चार दिन अघि आरडीटी परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।परीक्षणपछि उनीहरुलाई मस्जिदभित्रै क्वारेन्टाइनमा राखिएको मस्जिदका सचिव एजाज अन्सारीले बताए ।

यसैक्रममा हिजो शनिवार दमक ६— स्थित सुन्नी जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरु सहित १४ जनाको आरडीटी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । आरडीटी परीक्षणको रिपोर्ट भने सवैको नेगेटिभ आएको नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले बताइन् ।
उपप्रमुख समेत रहेकी प्रवक्ता अधिकारीका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएपछि डराउनु पर्ने अवस्था आएको छैन् । उनीहरु दुई महिना अघि नै नेपाल आएको खुलेको छ ।
कोरोना संक्रमण हुन नदिन सरकारले बन्दाबन्दी जारी राखेपछि उनीहरु भारत फर्कन नपाएको बताउँदै आएका छन् । झापामा ७० मस्जिद र ४९ मदरसा रहेका छन् । जिल्लामा रहेका सबै मस्जिद र मदरसा सञ्चालकसँगको समन्वयमा धार्मिक कर्म अहिले बन्द गराइएको बिर्तामोडस्थित जामे मस्जिदका सचिव एजाजले बताए । मस्जिदमा आउनेहरुलाई धर्मप्रतिको विश्वास, नमाज पढ्न सिकाउने, ध्यान, आचरण शिक्षा, दायित्व, कर्तव्यका बारेमा धर्मगुरुहरुले सिकाउने गरेको एजाजले जानकारी दिए ।
यसैगरी हिजो नै दमकमा मस्जिदमा रहेका वाहेक इलाका प्रहरी कार्यालय दमकको थुनामा रहेका कैदी र प्रहरी गरी ५ जना, क्वारेन्टाइनका एक जना र आम्दा अस्पतालवाट एक जना विरामी गरी २१ जनाको आरटीडी परीक्षण गरिएको थियो । ती मध्ये ४ जनाको थप स्वाब परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको प्रवक्ता अधिकारीले बताइन् । उनका अनुसार हाल दमक— ४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा २ जना र मानसरोवर ईन्स्टिच्यूटमा १५ जना पुरुष रहेका छन् । नगरपालिकाको नगर स्वास्थ्य शाखाको निगरानीमा बसेका उनीहरुको अवस्थामा सामान्य रहेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्