झापा, ७ बैसाख । लकडाउनको फाइदा लिँदै वन तस्करहरूले वन विनास तथा वन्यजन्तु तस्करीलाई तिब्रता दिन थालेका छन् ।

प्रहरी प्रशासनको ध्यान कोभिड–१९ को संक्रमण फैलिन नदिनेतर्फ मोडिएको मौका छोपी तस्करहरू तस्करीमा लाग्न थालेका हुन् । वन उपभोक्ता लकडाउन पालना गर्दै घरभित्रै छन् । अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर ननिस्कन सरकारले गरेको आह्वान अधिकांस सचेत नागरिकले पालना गरिरहेका छन् । तर, यहीबेला झापाका अधिकांस वन क्षेत्रमा पसेर तस्कर समूहले रूख काट्ने र वन्यजन्तुको चोरी शिकारी गर्ने गतिविधि बढाउँदै गएका छन् ।
लकडाउनका अवस्थामा सुरक्षा संयन्त्रको सम्पूर्ण ध्यान कोभिड–१९ को संक्रमण फैलिन नदिनेतर्फ मोडिएको बेला पेशेवर वन तस्कर र शिकारीले अवसर छोप्न थालेको सामुदायिक वनका पदाधिकारीहरू बताउँछन् । कसरी कोरोना फैलिन नदिने भनेर रोकथामका लागि समाजका सबै लागिरहेका छौँ ’ चन्द्रगढी वन समूहका समिति सदस्य लोकबहादुर कुँवरले भने, वन तस्करहरू भने सुनसान अवस्थालाई मौका बनाएर जंगलतिर पस्न थालेका छन् । यस अवस्थामा समूहले पालो लगाएर वन गस्ती गराइरहे पनि बिरूवा मास्ने क्रम रोक्न नसकिएको अवस्था छ ।’
यो समस्या सरकारको प्रत्यक्ष नियन्त्रणमा रहेको सरकारी वन र समुदायको संरक्षणमा रहेको सामुदायिक वन दुवैतिर बढ्दो मात्रामा छ । शिकारीहरुले वन क्षेत्रमा प्रवेश गरेर डढेलो लगाउने र वन्यजन्तु मार्ने गरेको हुँदा समुदायले बन्दाबन्दीको बेलासमेत गस्ती बढाउनुपरेको सामुदायिक वनहरूले जनाएका छन् । दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्दै आएका मजदुरले समेत कामविहीन भएपछि वन क्षेत्रमा वन्यजन्तुको शिकार गर्न थालेका छन् । झापाको वनमा बँदेल, हरिण, दुम्सी, मृग, खरायो, मयुर, लुइँचेलगायतका जीवजन्तु छन् । यी जनावर तथा पंक्षी मार्नेहरू रातदिन जुनसुकै मौका छोपिरहेका छन् । लकडाउनसँगै चोरी शिकारीबाट वनका जनावर जोगाउन नसकिने अवस्था आइसकेको स्थानीयको भनाइ छ । उनीहरूका अनुसार पटकपटक वनमा डढेलो लगाइसकेका छन् । यस अवस्था नियन्त्रण नहुने हो भने लकडाउनको अवधिभरमा वन्यजन्तु सकिने छन् भने रूख कटान पनि तीव्र बन्दा वन विनास नियन्त्रण बाहिर जाने छ ।

तस्कर र शिकारीहरू सक्रिय भएको पाइएपछि झापाका अधिकांस सामुदायिक वनले वन्यजन्तुको शिकार, काठ चोरीतस्करी र आगलागीबाट जोगाउन सामूहिक गस्ती गर्न थालेका छन् । लकडाउनको अवसर छोप्नेहरुलाई कारवाही गर्न सरकारले नयाँ कार्ययोजना अघि सार्नु पर्ने वन संरक्षणकर्ताहरूको माग छ । उनीहरू भन्छन्—लकडाउनका बेला वन जोगाउन वनका कर्मचारी र पदाधिकारीहरूलाई मुस्किल परिरहेको छ, आम उपभोक्ताको साथ र सहयोग अति आवश्यक बनिसकेको छ ।
झापामा ५९ वटा सामुदायिक र तीन वटा कबुलियती वन छन् । सबै वनको साझा समस्या नै चोरी तस्करी र आगलागी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । वन क्षेत्रमा तस्करी र शिकारी बढेको जानकारी पाएपछि कार्यालयले एक हप्ता अघि नै लकडाउनका बेला वन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाइएको सार्वजनिक सूचना जारी गरेको छ ।
लकडाउन अवधिभर जिल्लाका सामुदायिक, कबुलियती वनमा अत्यावश्यक संरक्षण बाहेकका अन्य सबै कार्यहरू वन ऐन, २०७६ को दफा ९ बमोजिम बन्देज लगाइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले अनाधिकृत रूपमा वन क्षेत्रमा प्रवेश गरे कडा कारवाही गरिने बताए । तर, चोरतस्करहरू रातको समयलाई अनुकुल बनाएर वन पैदावार मास्ने कार्यमा सकृय हुन छोडेका छैनन् । वन्यजन्तु शिकारीमा दिनमै सकृय भएपनि काठ तस्कर रातमा बढी सकृय हुने गरेको स्थानीय बासिन्दा बताउने गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्