बिर्तामोड , बैशाख ७ । नेपाल विद्यार्थी संघ झापाको अगुवाईमा ३६ पिन्ट रगत संकलन भएको छ ।

नेविसंघको ५१ औं स्थापना दिवस तथा सहिद राजन गिरीको १४ औं स्मृति दिवसको अवसर पारेर नेविसंघ झापाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । तीनदिने कार्यक्रमको आयोजना गरिए पनि लकडाउनका कारण अपेक्षाकृत रूपमा रक्तदान हुन नसकेको नेविसंघ झापाका नेता पोषराज कटुवालले बताए । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको रक्त सञ्चार केन्द्रमा सम्पन्न कार्यक्रममा सोही उपशाखाको प्राविधिक सहयोग रहेको थियोे ।
पहिलो दिनको कार्यक्रमको संयोजन नेविसंघ झापा सभापति राजेन्द्र उप्रेती, दोस्रो दिनको संयोजन नेविसंघ जिल्ला नेता सञ्जय राई र तेस्रो दिनको संयोजन कटुवाले गरेका थिए । पहिलो र दोस्रो दिन १०—१० र तेस्रो दिन १६ जनाले रगतदान गरेका थिए । नेविसंघले बिहीबार, शुक्रबार र शनिबार तीनदिने कार्यक्रम तय गरेको थियोे ।

रक्तदान गर्न हिडेका कतिपय व्यक्ति लकडाउनका कारण बाटोबाट नै फर्कन बाध्य भएको आयोजकले जनाएको छ । रक्तदान गर्न हिडेका केही व्यक्तिलाई लकडाउन उल्लंघन गरेको भन्दै मुक्तिचोकमा प्रहरीले उभ्याएकोमा नेविसंघ झापाले रोष प्रकट गरेको छ । भौतिक दुरी कायम गरेर तीन —तीन जनाका दरले रक्तदान गरिएको आयोजकले जनाएको छ । जीवनदान जस्तो पवित्र कार्यमा सहभागी हुन हिडेका व्यक्तिलाई मुक्तिचोकमा प्रहरीले बनाएको सेतो घेरामा उभ्याएर कारबाही गरिनु आपत्तिजनक भएको नेता कटुवालको भनाइ छ । उनले जिल्लामा देखिएको रगत अभाव कम गर्न संघको स्थापना दिवस र सहिदको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा प्रहरी प्रशासनबाट असहयोग भएकोमा असन्तुष्टि जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्