झापा,बैशाख ७ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म ३० नेपालीको मृत्यु भएको छ ।

एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांक अनुसार २८ जना गैरआवासीय नेपालीको कोरोनाको कारण मृत्यु भएको हो । बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा एक जनाको मृत्यु भएको हो । एनआरएनएले अमेरिकामा ८ नेपालीको मृत्यु भएको रिपोर्ट संकलन गरेको भएपनि वासिङ्टनस्थित रासस संवाददाता मधुकर अधिकारीले १० जनाको मृत्यु भइसकेको समाचार लेखेका छन् । यसरी कोरोनाको कारण विदेशमा मृत्यु हुनेको संख्या ३० पुगेको हो । एनआरएनका स्वास्थ्य उपसमितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर १ हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको आँकडा अनुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेका छन् । नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भई घर फर्किसकेका छन् । संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब ७ सय, बेलायतमा दुई सय, युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चार÷चार, क्यानडा र मलेसियामा तीन÷तीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मार र हङकङमा एक÷एक जना रहेको उपसमितिले जनाएको छ ।
विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारेको हो । एनआरएनका अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको छ । (रासस)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्