झापा, बैशाख ८ । कोरोना भाइरसको महामारीका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको छ ।

लकडाउनका कारण ५० हजार बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन् । जन्मिएको १५ महिनामा १२ किसिमको खोप दिइन्छ ।बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा.झलक गौतमले नियमित खोप सेवा अवरुद्ध भए वा छुटाए कोरोनाभन्दा पनि अन्य संक्रामक रोगका कारण बालबालिकाको ज्यान जाने खतरा रहने बताए । एक महिनाको अवधिमा ४५ देखि ५० हजार बालबालिकालाई खोप लगाउनुपर्ने उनको भनाइ छ । भाइरलजन्य रोगविरुद्ध लड्ने क्षमता अभिवृद्धिका लागि जन्मिएको १५ दिनभित्र बीसीजी खोप दिइन्छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस, हेमोफिलस, पोलियो, निमोनिया, जापानिज इन्सेफलाइटिस, दादुरा र रुबेलाको खोप जन्मेदेखि १५ महिनाभित्र लगाइसक्नुपर्ने उनले बताए । डा. गौतमका अनुसार १५ महिनाभित्र ६ लाख २० हजार बालबालिकालाई खोप लगाउनु पर्छ । यसका लागि नवजात शिशुका अभिभावकले खोप केन्द्रमा ६ देखि ७ पटकसम्म ल्याउनु पर्छ ।

यातायात सञ्चालन नहुँदा धेरै ठाउँमा भ्याक्सिन पठाउन नसकिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । लकडाउनका कारण हिँडडुल गर्न रोक लगाइएको र भ्याक्सिन पनि पर्याप्त नभएको जनाउँदै खोप सेवा सञ्चालन अवरुद्ध हुन पुगेको हो । खोप सेवा प्रभावित हुँदा बाल मृत्युदर जोखिम हुने विज्ञको भनाइ छ । नियमित खोप सुरु गर्ने निर्णय भए पनि विशेष खोपअन्तर्गत दादुरा र रुबेलाविरुद्धको खोप सेवा भने तत्कालै सञ्चालन नहुने डा. गौतमले बताए । लकडाउन खुलेपछि मात्र ती खोप सुरु गरिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्