झापा,८ बैशाख । जिल्ला स्वास्थ्य कार्यालय झापाले बालबालिकाहरुलाई दिदै आएको नियमित खोपलाई निरन्तरता दिने भएको छ ।

कोरोना भाईरस (कोभिड—१९ ) का कारण केही समययता अवरुद्ध भएको नियमित खोप सेवा यसै हप्ताभित्र शुरु गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १५ वटै स्थानीय तह र तिनका सवै वडाका खोप केन्द्र तथा जिल्लाका १ सय २२ वटै स्वास्थ्य संस्थाहरुबाट चाँडै नियमित खोप सेवा सञ्चालन गर्ने तयारी भईरहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । हालको बिषम परिस्थितिलाई मध्यनजर गर्दै भौतिक दुरीलाई समेत कायम गरी खोप सेवा सुचारु गरिने उनले बताए ।
यता, दमकमा भने हाल दमक नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखामा बालबालिकाहरुका लागि आवश्यक भ्याक्सिन नभएको र स्वास्थ्य कार्यालय भद्रपुरबाट ल्याउनुपर्ने भएकाले बैशाख १२ गतेदेखि १८ गते भित्रमा मात्र खोप सेवा सञ्चालन गर्न सकिने दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबृक्ष चौधरीले जानकारी दिए ।

नेपाल सरकारले विगत लामो समययता जन्मेदेखि २ वर्षसम्मका लागि १२ वटा खोप सेवा लिन र ५ बर्षमुनिका बालबालिकालाई पोलियो, भिटामिन ए, जुकाको औषधी सेवन गर्न अनिवार्य गरेको छ । हाल दमकमा १ बर्षमुनिका अनिवार्य खोप लिनु पर्ने बालबालिकाको संख्या १ हजार ८ सय रहेको र ८ हजारको हाराहारी ५ वर्षमुनिका बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्