बिर्तामोड, बैशाख ८ । कोरोना भाइरस महामारी संक्रमण रोकथाम र राहत व्यवस्थापन कोषमा बिर्तामोड नगरका शिक्षकहरुले धमाधम सहयोग गर्न थालेका छन् ।

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष नगरस्तरीय समितिको निर्णयानुसार नगरभित्रका सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षकहरुलाई कम्तीमा ३ दिन बराबरको तलव राहत कोषमा सहयोग गर्न बिर्तामोड नगरपालिकाले आह्वान गरेपछि शिक्षकहरुले रकम जम्मा गर्न थालेका हुन् । नगरपालिकाको आह्वानपछि नेपाल शिक्षक महासंघ बिर्तामोड नगरले पनि अनुरोध गरेको थियो । राहत कोषमा देवी माध्यमिक विद्यालय १ लाख १ हजार ३६०, महेन्द्र रत्न माध्यमिक विद्यालय ६२ हजार ७, मोहनमाया माध्यमिक विद्यालय ३९ हजार ९०२, वीर अमरसिंह प्राविधिक मावि ३५हजार २६७, सरस्वती माध्यमिक विद्यालय २३ हजार ७२०, साङ्गवेद संस्कृत माध्यमिक विद्यालय १३ हजार४८६, लक्ष्मी आधारभूत विद्यालय विरान ११ हजार ९०७, चमरधाप आधारभूत विद्यालयले ३ हजार ३०९ रुपैयाँ बुझाएको नेपाल शिक्षक महासंघ बिर्तामोड नगरले जनाएको छ ।

बिर्तामोडमा १८ वटा सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयका शिक्षकहरुबीच सहयोग गर्ने सहमति भएपनि तीन दिनको तलब सहयोग गर्ने कुरामा एकमत भएको थिएन । सहयोग गर्ने विद्यालयहरुले शिक्षकको कति दिनको तलब दिएको भन्ने खुलाएका छैनन् । बिर्तामोड नगरपालिकाको शिक्षा शाखाका कर्मचारीहरुले १० दिनको तलब राहत कोषमा दिएको अधिकृत केशर खवासले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, अधिकृत देवराज कार्कीलगायत केही कर्मचारीले एक महिनाको तलब दिएका छन् भने अरुले स्वेच्छाले सहयोग गरेका छन् । जनप्रतिनिधिहरुले भने सबैले एक महिनाको तलब भत्ता दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्