मनिषा चम्लागाईँ । दमक
अनिता साहले झापाको दमक नगरपालिका बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर छिर्ने गेटै नेर तरकारी पसल सञ्चालनमा ल्याएकी छिन् । साहलाई केही दिनअघि नै खरिद गरेको काउली, करेला, बोडी, भिन्डी, फर्सी, कांक्रा, टमाटर, कुरिलो, खुसार्नी बिक्री गर्न हम्मेहम्मे पर्न थालेको छ । खरिद गरेका धेरै तरकारी कुहिएर खेर जान थालेको छ ।
कोरोना भाइरसको जोखिम बढेसँगै तरकारीको व्यापार घटेको साह सुनाउँछिन् । “पहिले दैनिक ७ हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो” साहले भनिन्,“अहिले दिनमा २ हजारको बिक्री गर्नसमेत सकिएको छैन ।” तरकारी किन्दा कोरोना भाइरस सर्ने डरले व्यापार हुन छाडेको उनी बताउँछिन् । “तरकारी किन्न शिविर वरपरका स्थानीय र शिविर भित्रका शरणार्थी आउने गरेका थिए” साहले भनिन्, “अहिले कमै आउँछन् ।” साहले तरकारी बेचेरै श्रीमान, दुई छोरी, एक छोरालाई पाल्दै आएको सुनाइन् ।
दकम नगरपालिका –१ फूलबारी टोलमा बस्दै आएकी साहका श्रीमान शारिरीक रुपमा अशक्त छन् । अहिले व्यापार नहुँदा विहान बेलुकाको छाक कसरी टार्ने भन्ने पीरले साहलाई सताउन थालेको छ । तरकारी व्यापार गर्ने भएकै कारण स्थानीय सरकारले वितरण गरेको राहतमा पनि साहको नाम पर्नसकेन । “तरकारी पसल छ भनेर राहत दिएनन्” साह भन्छिन्, “ दैनिक करिब ३ किलोमिटर ठेलामा हालेर ल्याएको तरकारी बिक्री हुन्छ –हुँदैन थाहा हुन्न छाड्यो अब के गरी छाक टार्ने ?” ।
साह मात्र होइन, सहज रुपमा खरिद गर्न नपाउँदा र खरिद गरेको तरकारी बिक्री नहुदाँ शरणार्थी शिविरको गेटै नेर तरकारी पसल थापेर बसेका सबै तरकारी व्यवसायी समस्यामा परेका छन् । भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नाका काँकडभिट्टाबाट गत चैत २५ गतेदेखि आयात ठप्प हुदाँ तरकारी किन्नसमेत समस्या हुने गरेको छ । जसको मारमा साना व्यापारी परेको सोही ठाउँमा तरकारी पसल सञ्चालनमा ल्याएकी तारा पाँचकोटी बताउँछिन् । एक छोराको साथमा दमक नगरपालिका –२मा भाडाको घरमा बस्दै आएकी पाँचकोटी तरकारी बेचेर छाक टार्न र भाडा तिर्न समस्या शुरु भएको बताउँछिन् । धेरै तरकारी कुहाएरै फाल्नु परेको उनको गुनासो छ ।
मेची भन्सारबाट आयात बन्द भएसँगै स्थानीयस्तरमा नै किसानले उत्पादन गरेको तरकारी किन्ने गरेको उनी सुनाउँछिन् । “तरकारी बिक्री नभइ कुहिएर गए पनि किसानलाई पैसा दिनैपर्छ” पाँचकोटी भन्छिन्, “तरकारी किसानबाट ल्याउँदा राम्रै ल्याइएको हो, तर अहिले बिक्री गर्न समस्या छ ।” आधा तरकारी त कुहिन थालेको उनी बताउँछिन् । अहिले तरकारी बेचेर गुजारा गर्न नसक्ने अवस्था आएको उनको भनाई छ । पाँचकोटी राहत माग्दै जनप्रतिनिधिकोमा नपुगेकी पनि होइनन् । तरकारी पसल छ भनेरै राहत नदिएको गुनासो उनको छ । तरकारीको अभाव नभए पनि बजारको अभाव रहेको उनी सुनाउँछिन् । “जसोतसो तरकारी किन्न त पाइन्छ, तर बिक्री गर्न निकै सास्ती खेप्नु पर्छ” उनले भनिन् । अहिले स्थानीयस्तरमा तरकारी उत्पादन बढे पनि बजारको समस्या रहेको व्यापारी बताउँछन् ।
लकडाउन पूर्व दमकमा दैनिक २० टन हाराहारीमा हरियो तरकारी आयात हुने गरेको दमक शब्जि बजार व्यवस्थापन समिति अध्यक्ष कुमार श्रेष्ठले बताए । लकडाउनको अवधि लम्बिएसँगै झापा दमकको तरकारी बजार प्रायः सुनसान हुने गरेको छ । पहिलेको तुलनामा ७० प्रतिशत व्यापार घटेको उनी बताउँछन् । स्थानीयस्तरमा उत्पादन भएको तरकारी मात्र बजारमा रहेको मण्डी सञ्चालक बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्