राजेन्द्र गौतम, झापा ,बैशाख ९ । स्वास्थ्य परीक्षणपछि दमकको सुन्नी जामे मस्जिद र कलवलगुडी क्वारेन्टाइनमा राखिएका भारतीय मुस्लिम धर्मगुरुहरु लामो समयदेखि झापामा बस्दै आएको खुलेको छ ।

दमकको सुन्नी जामे मस्जिदमा रहेका धर्म गुरुहरुसँग भएको रेलको टिकट र बिर्तामोडको जामे मस्जिद मुनोरवामा रहेकाहरुको बसाइँ अवधिबाट त्यस्तो खुलेको हो । नेपाल मुस्लिम संघ झापाका उपाध्यक्ष एजाज अहमदले बिर्तामोडको जामे मस्जिद मुनोरवामा बस्दै आएका धर्मगुरुहरु गत डिसेम्बर २९ तारिख अर्थात ०७६ पुस १३ गते आइतबार नेपाल आएको बताए । बिर्तामोडको मस्जिदमा बस्दै आएका ९ जना धर्मगुरुमध्ये आठ जना भारतीय नागरिक हुन् । एक जना सप्तरी कटारीको भएको एजाजको भनाइ छ । उनीहरू त्यसबेलादेखि नै मोरङको टाँडीमा बस्दै आएका थिए । करिब डेढ महिनाअघि उनीहरू सबै बिर्तामोड आएका थिए । दमकको सुन्नी मस्जिदमा बस्दै आएका ११ धर्मगुरुमध्ये ८ जना भारतीय नागरिक हुन् । तीन जना नेपाली भएको खुलेको सो मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइन व्यवस्थापनको जिम्मेवारी लिएका टेकबहादुर थापाले बताए । नेपाली नागरिक दमक क्षेत्रकै भएको थापाले जानकारी दिए । सो मस्जिदमा बस्दै आएका भारतीय नागरिकसँग तीन महिना अघि लिइएको रेलको टिकट भएको थापाको भनाइ छ । उनीहरू सप्तरीको बोदेबर्साइन नगरपालिकाको जाँजरमा फागुन ३,४ र ५ गते भएको मुस्लिम धर्मावलम्बीको विश्व सम्मेलन इज्तिमामा सहभागी हुन आएका हुन् । उनीहरू त्यसैबेलादेखि भारत नफर्किएको बताइन्छ । लकडाउन सुरु भएपछि भारत फर्कन नपाएको र आफूहरु मस्जिदमा बस्दै आएको उनीहरूलाई उद्धृत गर्दै थापाले जनाए । नेपालमा लकडाउन चैत ११ गतेदेखि सुरु भएको हो । तर, उनीहरु फागुनको ६, ७ गतेदेखि चैतको ९, १० गतेसम्म कहाँ बसे त्यो भने खुलेको छैन । यसबीचमा दुबै मस्जिदमा बसेका धर्मगुरुहरु बाहिर कतै गए नगएको भने स्पष्ट हुन सकेको छैन । यद्यपि उनीहरू बाहिर नगएको बताउँछन् । लकडाउन सुरु भएदेखि नै बिर्तामोडमा रहेका धर्मगुरुहरु मस्जिदभित्रै क्वारेन्टाइनमा बसेको जामे मस्जिद बिर्तामोडका सचिव समेत रहेका एजाजले बताए र्। उहाँहरुले बस्ने, खाने,सत्ने व्यवस्था आफैं गरेर आउनु भएको हुन्छ, मस्जिदमा पनि उहाँहरुले त्यही गर्नु भएको थियोे’ सचिव एजाजले भनेर्, उहाँहरु मस्जिद भित्रै होमक्वारेन्टाइनमा हुनुहुन्थ्यो, स्थानीयको असन्तुष्टिपछि मात्रै कलवलगुडी क्वारेन्टाइनमा पठाउनु परेको हो ।“ तीन—चार दिनदेखि ४० दिनसम्म एउटा मस्जिदमा बस्ने उनीहरुलाई कसैले खाना खुवाउनु परे अग्रिम निम्तो दिनु पर्ने चलन रहेको एजाजको भनाइ छ ।
सुन्नी मस्जिद दमकमा बस्दै आएकाका लागि मस्जिदलाई नै क्वारेन्टाइनमा विकास गरिएको थापाले बताए । दमक नगरपालिका—६ का वडाध्यक्षसमेत रहेका थापाले उनीहरुलाई खानका लागि सोमबार ५० केजी चामल, दुई—दुई किलो नुन, तेल र दाल उपलब्ध गराइएको छ । मस्जिदलाई ५० वेडको क्वारेन्टाइन विकास गरी सुरक्षाका लागि नियमित दुई जना प्रहरी परिचालन गरिएको थापाले जानकारी दिए । ७० वेडको कलवलगुडी क्वारेन्टाइनको रेखदेख नेपाली सेनाले गरिरहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका —३ भुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका १३ जनामा कोरोना संक्रमण (कोभिड —१९ ) पुष्टि भएपछि झापाका सबै ७० मस्जिदमा निगरानी बढाएको झापा प्रहरीले जनाएको छ ।

झापाको बिर्तामोड र दमक नगरपालिकामा दुई ठूला मस्जिद छन् । ठूला मस्जिदमा भारतीय धर्मगुरु बसेको भेटिएपछि प्रहरीले निगरानी बढाएको हो । ती मस्जिदमा बस्ने सबै धर्मगुरुको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरुको आरडिटी परीक्षण गरिएको कोरोना रोकथाम तथा नियन्त्रण समिति झापा सचिव जीवन चौलागाईंले बताए । बिर्तामोडको मस्जिदमा रहेका धर्मगुरुको पाँच दिन अघि आरडीटी परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।शनिबार दमक ६— स्थित सुन्नी जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरु सहित १४ जनाको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् । नगरपालिकाकी प्रवक्तासमेत रहेकी अधिकारीका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएपछि डराउनु पर्ने अवस्था छैन । झापामा ७० मस्जिदसहित ४९ मदरसा छन् । जिल्लामा रहेका सबै मस्जिद र मदरसा सञ्चालकसँगको समन्वयमा धार्मिक गतिविधि अहिले बन्द गराइएको छ । मस्जिदमा आउनेहरुलाई धर्मप्रतिको विश्वास, नमाज पढ्न सिकाउने, ध्यान, आचरण शिक्षा, दायित्व, कर्तव्यका बारेमा धर्मगुरुहरुले सिकाउने गरेको बताइन्छ ।
मस्जिदमा रहेका बाहेक इलाका प्रहरी कार्यालय दमकको थुनामा रहेका कैदी र प्रहरी गरी ५ जना, क्वारेन्टाइनका एक जना र आम्दा अस्पतालबाट एक जना विरामी गरी २१ जनाको आरटीडी परीक्षण गरिएको थियो । तीमध्ये ४ जनाको थप स्वाब परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रवक्ता अधिकारीले बताइन् । उनका अनुसार हाल दमक— ४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा २ जना र मानसरोवर ईन्स्टिच्यूटमा १५ जना पुरुष रहेका छन् । नगरपालिकाको नगर स्वास्थ्य शाखाको निगरानीमा बसेका उनीहरुको अवस्थामा सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्