झापा, ९ वैशाख । कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण नागरिक घरभित्र रहेको मौका छोपेर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा सडकखण्डमा रहेका सरकारी जमिनका रूख काटिएका छन् ।

झापाको कनकाई नगरपालिकामा पर्ने दुर्गापुर सडक खण्डमा सडक विभागको जमिनमा रहेका मसला जातका रूख विधि र प्रकृया मिचेर काटिएका हुन् । नगर सरकारको नेतृत्व गरिरहेका राजेन्द्र पोखरेलले देशको कानुनमाथि नै चुनौती दिँदै आफ्नो निर्देशनमा रूख कटान गराएका हुन् ।
कनकाई नगरपालिकाका नगर प्रमुख पोखरेलको निर्देशनमा रूख काटिएको स्थानीयको भनाइ छ । रूख काट्ने कार्यमा संलग्न एक मजदुरले पोखरेलकै आदेशले रूख काटेको बताएका छन् । मेसिनमा तेल छैन भन्दा नगर प्रमुख आफैंले आफ्नो घर कम्पाउण्डमा रहेको गाडीबाट तेल निकालेर दिएपछि आफूले रूख काटेको उनले बताए । ती मजदुरका अनुसार जम्मा सातवटा रुख काट्नु भनिएको भए पनि चारवटा मात्र काटिएको छ । रूख काट्नका लागि नगरपालिकाको ठूलो जेसीवी प्रयोग गरिएको थियो ।
सरकारी जमिनमा भएका रुख काट्न आधिकारिक आदेश दिने डिभिजना वन कार्यालयको आदेश विना रुख काटिएको थाहा पाएपछि डिभिजन वन कार्यालय झापाको निर्देशनमा सेक्टर वन कार्यालय सुरुङ्गाले हाल काटिएका रूख नियन्त्रणमा लिएको छ । रुख कसले काट्यो भन्ने कुराको आधिकारिक पुष्टि भइनसकेको सेक्टर वन कार्यालय सुरुङ्गाका कार्यवाहक प्रमुख राजिव घिमिरेले बताए । काटिएका रूख सोमबार नगरपालिकाको फोहोर मैला उठाउने गाडी प्रयोग गरी सेक्टर वन सुरुङ्गामा लगेर राखिएको छ ।

कनकाई नगरपालिकाका प्रमुख पोखरेलको आवास अगाडि काटिएका रूख कटानबारे डिभिजन वनबाट आदेश भए÷नभएको बारे जानकारी नभएको घिमिरेले जानकारी दिंदै भने,‘लकडाउन अगाडि नै प्रक्रिया पुर्याएको थाहा भएन ।’
प्रक्रिया पूरा गरेर सरकारी जमिनको रूख काट्नका लागि सडकको जमिन भए सडक डिभिजन कार्यालयमा लिखित निवेदन दिएपछि सडक विभागले डिभिजन वनलाई सिफारिस गर्ने र त्यसपश्चात सडक (सरकारी) जमिनमा रहेका रूख बिरुवाले आवागमनमा असर पुर्याउने भए सरकारी रूख हटाउने समितिको सिफारिसमा रूख काटेर अवरोध हटाउन सकिने प्रावधान रहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्