झापा, ९ वैशाख । बन्दाबन्दीको अनुचित फाइदा लिएर व्यापारीहरूले दैनिक उपभोग्य बस्तुमा कालाबजारी गर्न थालेको जनगुनासो सुनुवाई गर्दै जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले भद्रपुरमा अनुगमनका क्रममा नियम विपरित कारोवार गर्ने ४ वटा पसललाई कारवाही गरेको छ ।

समितिले सोमबार भद्रपुर बजार क्षेत्रमा अनुगमन गर्ने क्रममा कालाबजारी तथा आधारभूत नियम पालना नगर्ने चारवटा किराना पसललाई स्थलगत अनुगमनपछि ३ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरेको हो । दैनिक उपभोग्य सामग्रीमा रातारात मूल्य बढाएर लाखौं कमाउन खोज्ने कालाबजारी व्यापारिक समूह प्रशासनको निशानामा पर्न थालेपछि उपभोक्ता ठगिने क्रम घट्ने आशा पलाएको छ । सदरमुकामसमेत रहेको भद्रपुर नगरपालिकाको वडा नम्बर ६ र ७ मा सञ्चालनमा रहेका केही किराना पसले बिलविजक जारी नगरेको, कर पाटी नराखेको, कारोवारस्थलमा मूल्यसूचि खाता नराखेको पाइएपछि समितिले कालाबजारीको आशंकामा सो जरिवाना गरेको जनाएको छ ।

समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले भद्रपुर बजारको पार्वती किराना पसल, सगरमाथा चोकको रिजाल किराना पसल, भद्रपुर–६ स्थित सरस्वती स्टोर, लक्ष्मी स्टोर, शिवशक्ति स्टोर, भद्रपुर–७ को हाम्रो किराना पसल र सुप्रिम स्टोरमा अनुगमन गर्दा चारवटाले मनपरी ढंगले कारोवार गर्ने गरेको पाइएकोले जरिवाना गरिएको जानकारी दिए ।
सरस्वती स्टोरलाई विलविजक जारी नगरेकोमा ५ हजार, खरिद विक्री खाता नराखेकोमा एक हजार गरी ६ हजार, लक्ष्मी भण्डारलाई रु ६ हजार, शिवशक्ति स्टोरलाई ३ हजार र सुप्रिम स्टोरलाई १० हजार गरी जम्मा २५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्