झापा, बैशाख ९ । नेपालमा एकैदिन ११ जनामा कोरोना पुष्टि भएको छ ।

मंगलबार एकैदिन ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ बिराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् ।

निजहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परिक्षण भैरहेको छ । अन्य थप ६९ जनाको परीक्षणको लागि बिराटनगरस्थित कोशी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परिक्षणको लागि आज वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । त्यहाँ परिक्षण गर्दा थप पुष्टि भएको होे । उनीहरूलाई हाल बिराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ । हाल पुष्टि भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको छ । यसरी हाल सम्मको अद्यावधिक विवरण अनुसार नेपालमा कोभिड—१९ पुष्टि भएको संख्या ४२ पुगेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्