झापा, बैशाख १० । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपरको बस्तीका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको आँकलन गरिएको छ ।

भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ जना र विराटनगर–१७ का २ जनामा कोरोना देखिएपछि आसपासका बस्तीका बासिन्दामा गरिएको परीक्षणमा ११ जना संक्रमण फैलिएको पाइएको छ । थपिएका ११ संक्रमितमध्ये दुई महिला हुन् भने बाँकी पुरुष छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा २४ जना भुल्केका छन् । भुल्केको मस्जिदमा बस्नेहरुमा कोरोना पुष्टि भएपछि संकलन गरिएको ६९ जनाको स्वाब विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो । त्यसबाहेक नेपाली सेनाले संकलन गरी काठमाडौं लगेको २५२ जनाको स्वाबमध्ये तीन जनामा कोरोना देखिएको छ । अझै केहीको रिपोर्ट आउन बाँकी छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार विराटनगरमा गरिएको परीक्षण बस्तीका घरमुलीहरुको हो । र्याण्डम्ली घरका एक जनाको दरले नमूना संकलन गर्दा ८ जनामा संक्रमण देखिएकोले समुदाय नै संक्रमित भएको आशंका बढेको छ । संक्रमितको परिवारका सदस्य र उनीहरुको सम्पर्कमा आएकाहरूको परीक्षण बाँकी नै रहेको सुवेदीले बताए । भुल्केमा भेटिएका संक्रमितहरुमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन । त्यसैले पनि संक्रमण समुदायमा पुगेको आशंकालाई बल मिलेको छ । उदयपुरको त्रियुगास्थित गाईघाट बजारबाट केही दक्षिणपूर्वको बस्तीमा कोरोना फैलिएको हो ।
मस्जिदमा रहेका ११ जना भारतीयहरुको बयानलाई सही मान्ने हो भने पनि उनीहरुलाई नेपालमा नै संक्रमण भएको देखिन्छ । स्वास्थ्यविज्ञहरुले उदयपुरमा भेटिएका २४ जनामा कोरोना पोजिटिभ कहाँबाट आयो भनेर खोज्नुपर्नेमा जोड दिएका छन् ।

उदयपुरमा समुदायमै संक्रमण देखिएसँगै विज्ञले नेपालमा कोरोना संक्रमणको तेस्रो चरण देखिएको संकेत गरेका हुन् । विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ । त्यसैगरी समुदायमा नै फैलिनु तेस्रो चरण हो । तेस्रो चरणमा संक्रमण फैलिएको अवस्थामा भयाबह अवस्था आउनसक्छ । घरमुलीको नमुना लिएर परीक्षण गर्दा ११ जनामा कोरोना देखिएको बताउँदै उदयपुरबाट प्रतिनित्वि गर्ने प्रदेशसभा सदस्य विमल कार्कीले उनीहरुका परिवारका सबै सदस्यमा संक्रमण भएको हुनसक्ने आशंका ब्यक्त गरे ।
सांसद कार्कीका अनुसार सोही मुस्लिम बस्तीबाट उत्पादित तरकारी गाईघाट बजारमा सप्लाई हुने भएकोले कम्तिमा त्रियुगाका १०, ११, १२ र ३ नम्बर वडाको घरघरमा त्यो तरकारी पुगेको छ । तरकारीमार्फत् गाईघाटसहित त्रियुगाका धेरै ठाउँमा कोरोना भाइरस सर्नसक्ने देखिएकोले परीक्षण बढाउनुपर्ने र उदयपुरमै कोरोना अस्पताल निर्माण गर्नुपर्ने उनले माग गरेका छन् । बस्तीमा कोरोना फैलिएको देखिएको भएपनि सरकारले कोरोना तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिसकेको छैन । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मालिमा तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले संक्रमण समुदायमा पुगेको हो कि हैन भन्ने अध्ययन भइरहेको बताए । थप केसहरुको अध्ययनपछि निश्कर्षमा पुग्न सकिने बताउँदै मन्त्री कार्कीले जोखिम बढ्न नदिन त्यस क्षेत्रमा कडाई गर्ने र परीक्षणलाई व्यापक बनाइने जानकारी दिए । यसैगरी सप्तरी र सिरहामा पनि सतर्कता अपनाउनुपर्ने देखिएकोले त्यसमा संघीय सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ । जोखिम बढ्न नदिन संक्रमण देखिएको क्षेत्रबाट उत्पादित वस्तुहरुलाई बाहिर लैजान नदिने निर्णय त्रियुगा नगरपालिकाले गरेको छ । अब भुल्के र चौदण्डी नगरपालिकाको ५ नम्बर वडालाई संवेदनशील क्षेत्र मानिएको छ । ती क्षेत्रमा बाहिरबाट मानिस जान र टोलबाट बाहिर निस्कन रोक लगाइएको छ । सरकारले संक्रमण फैलिएको क्षेत्रमा उच्च सुरक्षा सतर्कतासमेत बढाएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्